केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी « प्रशासन
prasaLogo
११ श्रावण २०७५, शुक्रबार

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी


प्रकाशित मिति : 27 July, 2018 11:55 am

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।

बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले बताए । उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत काँग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे ।

नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको उपस्थिति थियो ।

काठमाडौं उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा. केसीबीच नौ बुँदे सहमति भएको थियो । सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस