गृहमन्त्री बादलसँग अमेरीकी राजदुतको बिदाई भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्री बादलसँग अमेरीकी राजदुतको बिदाई भेट


९ श्रावण २०७५, बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

केही दिनमा राजदुतको रुपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदुत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे ।

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

पछिल्लो समय अमेरीका र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्व शान्ति कायम गर्न सहयोग पुग्ने विश्वाँस गृहमन्त्रीले व्यक्त गरे । राजदुत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरीका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाई सुखद रहेको बताए ।

उनले आफ्नो कार्यकालमा नेपाल सरकार र गृहमन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा राजदुतले जिज्ञासा राखेकी थिइन् ।

जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत पनि कुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस