किसानद्वारा दूध बाँडेर विरोध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

किसानद्वारा दूध बाँडेर विरोध


७ श्रावण २०७५, सोमबार


चितवन । दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् ।

दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले आज रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् ।

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने रत्ननगरका शिवकान्त पौडेलले बताए ।

यसअघि शुक्रबार राप्ती नगरपालिकास्थित भण्डारामा र आइतबार खैरहनी नगरपालिकाको ज्यामिरेचोकमा झण्डै ४०० लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका थिए । जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले बाहिरको मिसावट दूध ल्याएर शुद्ध दूधमा खेलबाड गरेको आरोप लगाए।

दुग्ध विकास संस्थान (डिडिसी)का निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले दूधको मूल्य घटाएको नभई यसअघि किसानलाई गुणस्तर हेरेर दिइँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती भएको बताए ।

प्रतिक्रिया दिनुहोस