पशुपतिमा बिहानैदेखि भक्तजनको भीड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड


७ श्रावण २०७५, सोमबार


काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

 

बिहान केही समय वर्षात्ले लाममा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिए पनि सहज रुपमा लाम सरेको उनले बताए । दिउँसो १ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले मूल मन्दिर प्रवेश गरी पूजा गरेको कोषले जनाएको छ ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको हो । पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।   रासस

 

प्रतिक्रिया दिनुहोस