तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तीन करोड ५१ लाखको लागतमा डिप ट्युबवेल


३ श्रावण २०७५, बिहिबार


विराटनगर । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं. १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ ।

कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४/७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा एक/एक वटा डिप ट्युबवेल निर्माण भएको ।

त्यस्तै आव २०७३/७४ मा शुरु भई गत आव २०७४/७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि एक/एक वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ ।

डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०/४० हेक्टर जमीनमा सिँचाइ हुने बताइएको छ । कार्यालयका अनुसार सुनसरीको जब्दीमा जमीन खन्न समस्या भएपछि आव २०७४/७५ मा निर्माण गरिने डिप ट्युबवेल चालु आव २०७५/७६ मा निर्माण हुनेछ ।

यस्तै, समृद्ध तराई–मधेश विशेष कार्यक्रमअन्तर्गत डिप ट्युबवेल निर्माणका लागि आएको रु एक करोड ३१ लाख डिप ट्युबवेल निर्माणमा खर्च भएको छ । डिप ट्युबवेल निर्माणपछि विद्युत, ओभरहेड ट्याङक तथा वितरण प्रणालीलगायतका प्राविधिक कार्य भइरहेको छ । उक्त कार्यालयअन्तर्गत चार जिल्लामा स्यालो तथा डिप ट्युबवेल निर्माण गर्ने कार्यक्रम भए पनि स्यालो ट्युबवेल निर्माण कार्यक्रम स्थानीय तहमा गएकाले डिप ट्युबवेलको काम मात्र भएको कार्यालय प्रमुख लौडारीले बताए ।

चार जिल्लामा एक हजार ५०६ स्यालो ट्युबवेल निर्माण गर्ने कार्यक्रम रहेकामा ती कार्यक्रम स्थानीय तहमा गएपछि जडान हुन सकेको छैन । स्थानीय निकायमा अन्योलतालगायतका प्राविधिक समस्याका कारणले स्यालो ट्युबवेल निर्माण हुन नसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस