किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता


३ श्रावण २०७५, बिहिबार


चितवन । चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् ।

यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रुपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए ।

तोकिएको समय असार मसान्तसम्म चितवनमा ३३ प्रतिशत भूकम्प पीडित (लाभग्राही) ले दोस्रो किस्ताको रकम बुझेका छन् । जिल्लामा ७६ प्रतिशतले पहिलो किस्ता लिए पनि विभिन्न अवरोधका कारण दोस्रो किस्ता लिने भूकम्प पीडितको संख्या भने आधाले कम छ । किस्ता वितरण अझै सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । तेस्रो किस्ता लिने तीन प्रतिशत मात्रै छ ।

प्रमुख पोखरेलका अनुसार अहिलेसम्म जोखिम क्षेत्रका ५२ घरपरिवारलाई जग्गा उपलब्ध गराएर बस्ती सार्ने प्रक्रियामा लगिएको छ । “विगतमा देखिएको समस्या यथावत् नै छ”, उनले भने छ तर किस्ता वितरणको म्याद भने थपिन्छ ।”

चितवनमा भूकम्प प्रभावित (लाभग्राही) को संख्या कूल सात हजार ३३५ परिवार छ । त्यसमध्ये पाँच हजार ६२६ जना (७६ प्रतिशत) ले पहिलो किस्ता बुझेकामा दोस्रो किस्ता लिने दुई हजार ४२८ जना (३३ प्रतिशत) रहेको उक्त कार्यालयका इन्जिनियर सुजन नेपालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म तेस्रो किस्ता लिने जम्मा २२६ जना (जम्मा तीन प्रतिशत) मात्रै रहेका छन् । जिल्लामा राहत वितरण प्रभावकारी हुन नसके पनि अन्य जिल्लाको तुलनामा भने चितवनमा राम्रो प्रगति भएको उनकोे दाबी थियो ।

कार्यालयले दिएको तथ्यांकअनुसार तेस्रो किस्ता वितरणमा अहिलेसम्म चितवनमा सबैभन्दा कम इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा शून्य दशमलब ६ प्रतिशत मात्रै प्रगति भएको छ । भरतपुर महानगरमा दुई दशमलब पाँच, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माडीमा १७ र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन् । तेस्रो किस्ताको रकम बुझ्ने म्याद भने अझै आगामी पुससम्म छ ।

चितवनको भरतपुर महानगरमा ७१०, रत्ननगरमा ७३१, खैरहनीमा ५५९, राप्तीमा दुई हजार ४३, माडीमा २३, कालिका नगरपालिकामा ९१६ र इच्छाकामना गाउँपालिकामा दुई हजार ३५३ जना भूकम्पको लाभग्राही सूचीमा छन् । भरतपुर महानगरपालिका हेर्दै आउनुभएका इन्जिनियर राजीव ज्ञवाली चितवनको भरतपुर २५ र २९ मा ऐलानी जग्गाका कारण राहत वितरण गर्न नसकिएको बताए। सरकारले घर बनाउनका लागि पहिलो किस्ता ५० हजार दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाखका दरले सहयोग गर्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस