एक करोड १५ लाखसहित हुन्डी कारोवारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक करोड १५ लाखसहित हुन्डी कारोवारी पक्राउ


२४ असार २०७५, आइतबार


पर्सा । मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले रु एक करोड १५ लाख ५ हजार १०० सहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

हुन्डीको करोबार हुँदै गरेको पूर्वसूचनाको आधारमा प्रहरीले वीरगन्जको रानीघाटबाट उक्त परिमाणको रकमसहित वीरगन्ज–९ निवासी राहुल केशरीलाई नियन्त्रणमा लिएको हो ।

रानीघाटस्थित महेश केशरीको घरमा अवैध मुद्रा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा आज बिहान छापामार्दा उक्त परिमाणको रकम बरामद भए पनि राहुललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राहुलले संचालन गरेको हुन्डी कारोवारबाट भारत तथा तेस्रो मुलकका लागि अवैध रुपमा मुद्रा पठाउने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

राहुलसँगै हुन्डीको कारोवारमा संलग्न भएको हुनसक्ने आशंकामा अन्य पाँचजना समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राहुललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यसैबीच, भारतबाट अवैध रुपमा भारतीय मुद्रा भित्र्याउने क्रममा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी आजै सार्वजनिक गरेको छ । वीरगन्जको रजतजयन्ती चोकबाट आठलाख एकहजार २०० भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको विहारस्थित सुगौली निवासी अभिजित कुमार सर्राफलाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिआर ०५ के ६४४४ नं को भारतीय मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा बनाइएको गोप्य खण्डमा रकम लुकाई नेपाल भित्र्याउने क्रममा सर्राफ पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका सर्राफलाई समेत आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस