बाढीको डरले रातभर जाग्राम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीको डरले रातभर जाग्राम


२४ असार २०७५, आइतबार


रौतहट । वर्षा सुरु भएसँगै लालबकैया खोलामा पानीको सतह बढ्न थालेपछि बौधीमाई नगरपालिकाको वडा नं २ इनर्वावासी रातभर जाग्राम बस्न थालेका छन् । बाढीको डरले उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

केही दिनअघि खोलामा आएकोे बाढीले केही ठाउँमा जमिन कटान गरेको स्थानीय बताउँछन् । ‘खोलामा पानीको सतह बढेपछि बस्ती त्रसित छ,’ एक स्थानीय भन्छन् । खोलामा बनाइएको बाँध समयमै मर्मत नहुँदा बाढीको जोखिम बढेको स्थानीय बताउँछन् । बाँध मर्मत गर्न आग्रह गर्दा पनि जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय, वीरगन्जले चासो नदिएको उनीहरूको आरोप छ ।

सम्भावित बाढीको जोखिमले स्थानीयमा त्रास छाए पनि मेयर राजिव रंजन यादवले भने ढुक्कसँग बस्न स्थानीयलाई आग्रह गरेका छन् । उनले बाढीको जोखिम टार्ने गरी काम गरिरहेको बताए ।
गत वर्षको बाढीले ठाउँठाउँमा सयदेखि तीन सय मिटरसम्म बाँध भत्काएको थियो । बाढीले बौधीमाई, परोहा, राजपुर र ईशनाथ नगरपालिकाका दर्जनौं गाउँ डुबानमा परेका थिए भने हजारौं परिवार विस्थापित भएका थिए ।

सांसद्को टोलीद्वारा अनुगमन
पूर्वमन्त्री तथा सांसद् मो. अफताब आलम लगायतको टोलीले लालबकैया खोला क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा सांसद् आलमले बाढीबाट जोगाउन पहल गर्ने प्रतिबद्धता जनाए । ‘यहाँका सम्पूर्ण जनताको ज्यान जोगाउने जिम्मेवारी मेरो हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस