सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक


२२ असार २०७५, शुक्रबार


कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ ।
 
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।
 
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए ।
 
असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।
 
“तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,” प्रहरी उपरीक्षक घिमिरेले भने, “घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।”
 
दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।
 
यस्तै, पत्रकार सम्मेलनमा पूर्व प्रेमीसँग मिलेर श्रीमानको हत्यामा संलग्न कञ्चनपुर पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ ।
 
कैलाली गोदावरी नगरपालिका–११ माइतीघर भएकी लक्ष्मीलाई घर ल्याउन भनी गएका निजका श्रीमान् तेजबहादुर विष्ट उतैबाट बेपत्ता भएकामा घटनाको अनुसन्धानका क्रममा श्रीमती लक्ष्मी र उनका प्रेमी खत्रीले धनगढी–डडेल्धुरा राजमार्गको भासुको भिरमा विष्टलाई पु¥याई कुटपिट गरी भिरबाट खसालेर हत्या गरेको पत्ता लागेको जनाइएको छ ।
 
मृतकको शव र उनले प्रयोग गरेको मोटरसाइकल असार १२ गते भिरमा फेला परेको थियो ।
 
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँमा दुईदिनअघि आफ्नै श्रीमती गर्भी चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान् इन्द्रबहादुर चौधरीलाई पनि सार्वजनिक गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस