बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित


२१ असार २०७५, बिहिबार


चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् ।

शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताउँछन् । चालीस करोड ऋणको पाँच प्रतिशत ब्याज वृद्धिले वार्षिक दुई करोड नोक्सान व्यहोर्नु परेको भन्दै उनले भित्रभित्रै उद्योगी व्यवसायी सकिँदै गएको बताए ।

“नेपालमा उद्योग खोल्नु भनेको सुकुम्वासी हुनु हो, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने स्थिति छ,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम सरकारले अन्य क्षेत्रको सिण्डिकेट तोड्ने प्रयास गरे पनि पूँजी बजारमा नहेर्दा उद्योगी व्यवसायी मर्कामा परेको बताउँछन् । उत्पादन क्षेत्रमा सात प्रतिशत सम्ममा प्रवाह भएको ऋण १४ प्रतिशतसम्म पुगेको भन्दै उनले दोब्बरसम्म ब्याज वृद्धि हुँदा उद्योगी व्यवसायीले धान्ने अवस्था नरहेको बताए ।

“जसरी बैंकको ब्याजदर बढेको छ त्यसैगरी मुनाफा बढ्न सक्दैन, यो तालमेल नमिल्दा धेरै उद्योगी व्यवसायी धाराशयी हुने अवस्थामा पुगेका छन्,” उनले भने ।

बैंकहरुले सिण्डिकेट गरेर ब्याजदर बढाउनु आफैँमा खराब भएको भन्दै गौतमले स्प्रेड दर पाँच प्रतिशतलाई घटाएर दुई प्रतिशतमा झार्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान सम्झौताको बेलाको ब्याजदर अन्तिमसम्म कायम हुनुपर्ने बताउँछन् । अहिले दोब्बरसम्म ब्याज बढेको भन्दै उनले यसले उद्योग व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको बताए । बैंकहरुले गरेको सिण्डिकेटका कारण यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको र उद्योग व्यवसाय गर्न चाहनेलाई अहिलेको ब्याजले निरुत्साहित बनाएको बताए ।

स्थिर सरकारसँगै उत्पादन र व्यवसायको क्षेत्रमा काम गर्ने धेरैको चाहना रहेको भए पनि अहिलेको ब्याजदरले उनीहरुलाई निरुत्साहित बनाएको छ । ब्याज बढ्दै गएपछि कतिपयले बैंक नै परिवर्तन गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका त्रिलोचन कँडेल आफ्नो ऋणको ब्याजदर झण्डै चार प्रतिशत वृद्धि भएपछि बैंक नै परिवर्तन गर्नुपरेको बताँछन् ।

पोल्ट्री व्यवसायी कँडेल ब्याजदरको वृद्धिले आफू जस्ता धेरै किसान प्रभावित भएको बताँछन् । बैैंकको पूँजी बिना व्यावसायिक पोल्ट्री गर्न नसकिने बताउँदै उनले बैंकले पनि एकाएक ब्याजदर बढाउन थालेपछि किसान विस्थापित हुने अवस्थामा पुगेको बताए ।

प्राइम कमर्शियल बैंक भरतपुरका प्रबन्धक पदम पौडेल बैंकहरुमा लगानीयोग्य रकम अभाव भएसँगै निक्षेपमा ब्याजदरको प्रतिस्पर्धा हुँदा ऋणको ब्याजदर बढेको स्वीकार्छन्। उनले सरकारी खर्च समयमा नहुने, संविधान बनेपछि उद्योग व्यवसाय गर्नेको संख्या बढेसँगै ऋणको माग बढ्नु, जलविद्युत् जस्ता ठूला र लामो समय ऋण असुली नहुने क्षेत्रमा लगानी बढ्नु लगायतका कारण ब्याजदर उच्च भएको बताए ।

ब्याजदर उच्च हुँदा यहाँ उत्पादित वस्तुले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । उद्योगी व्यवसायी निरुत्साहित भएका छन् । व्यापार क्षेत्रमा पनि ब्याजदर बढेपछि बढाउनुपर्ने नाफाका कारण यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको छ ।

प्रतिक्रिया दिनुहोस