केसीका मागप्रति कर्णालीका डाक्टरहरुको समर्थन, आकस्मिक बाहेक सबै सेवा ठप्प « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केसीका मागप्रति कर्णालीका डाक्टरहरुको समर्थन, आकस्मिक बाहेक सबै सेवा ठप्प


१९ असार २०७५, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु आन्दोलीत भएका छन् । उनीहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै आजबाट प्रतिष्ठानको शिक्षण अस्पतालमा आक्समिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

स्थानीय प्रशासनले डा. केसीलाई अनननका लागि राखेको ठाउँमा उपचार सम्भव नभएको भन्दै उनको जीवन रक्षाको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै चासो नदिएकाले आन्दोलनमा उत्रीन बाध्य हुनुपरेको उनीहरुको माग छ । डा. केसीको स्वास्थ्य अवस्था कम्जोर बन्दै गएको पनि चिकित्सकहरुले बताएका छन् ।

सात बुँदे माग राख्दै केसीले शनिबारबाट अनशन थालेका छन् ।

यस्ता छन् केसीका माग

१. चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।

२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।

३. माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

४. चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस्। त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

५. विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

६. कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।

७. पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस् ।

प्रतिक्रिया दिनुहोस