चीन पठाइँदै छन सौराहाका एकजोडी गैँडा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीन पठाइँदै छन सौराहाका एकजोडी गैँडा


१४ असार २०७५, बिहिबार


चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।

राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ । चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ ।

चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली यहाँ आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैँडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैँडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिए सँगै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ ।

ती गैँडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते भएको चीन भ्रमणको बेला पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारीको अभावमा पठाउन सकिएको थिएन । अर्को एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैँडालाई असार २८ गते र अर्को एक जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो ।
दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएा थिए । सोही अनुरुप अहिले गैँडा पठाउन लागिएको हो । रासस

प्रतिक्रिया दिनुहोस