कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन कामपाको आग्रह


१२ असार २०७५, मंगलबार


काठमाडौं । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।

कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ ।

कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो ।

अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् ।

यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको शुरुवात गरेको हो । एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन् । यस्तो विकराल स्थिति रोक्न घरपालुवा कुकुरलाई घरमै दिसापिसाब गराउन कामपाले अनुरोध गरेको छ ।

यसैगरी, घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने पनि श्रेष्ठले बताए । दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस