सिंहदरवारमै खुलेआम धूमपान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमै खुलेआम धूमपान


११ असार २०७५, सोमबार


काठमाडौं । कानुनी व्यवस्था अनुसार सार्वजनिक स्थलमा धूमपान तथा सूर्ती सेवन गर्न पाइँदैन । तर, सिंहदरवारभित्र खुलेआम धूमपान तथा सूर्ती सेवन हुने गरेको छ । यसको उदाहरण हो– सिंहदरवार परिसरभित्रका मन्त्रालयका गमलामा फ्याकिएका चुरोटका ठूटा ।
हेर्नुस् तस्बिर 

सिंहदरवारका क्यान्टिनमा खुलेआम सूर्तीजन्य पदार्थ खुलेआम बिक्री भइरहेको रेडियो नेपालमा कार्यरत एक कर्मचारी बताउँछन् । ‘यहाँका क्यान्टिनमा खुलेआम सूर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको छ,’ ती कर्मचारी भन्छन्, ‘तर, यसको नियन्त्रणमा कसैले चासो देखाएका छैनन् ।’

क्यान्टिन सञ्चालक भने आफूलाई सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नहुनेबारे जानकारी नभएको बताउँछन् ।

सार्वजनिक स्थलमा चुरोट, बिँडी, हुक्का, खैनी, पान, गुट्खा सेवन गर्दा एक सय रूपैयाँ जरिवाना वा उक्त स्थलबाट बाहिर वा दुवै सजाय हुन सक्छ ।

त्यस्तै सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्रको घर तथा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था छ ।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनको दफा ३ मा राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्थालगायत मानिसको जमघट हुने सार्वजनिक स्थलमा धूमपान निषेध गरेको उल्लेख छ । तर, सार्वजनिक स्थलमा चुरोट र सूर्ती सेवनमा कडाइ हुन सकेको छैन ।

कार्वाही कमजोर र जरिवाना रकम थोरै भएकाले धूमपान तथा सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा समस्या भइरहेको ती कर्मचारी बताउँछन् । ‘निगरानीमा कडाइ हुँदा जथाभावी धूमपान सेवन गर्ने प्रवृति बढेको छ,’ ती कर्मचारी भन्छन्, ‘यसबारे नेतृत्व तहले चासो देखाउनु आवश्यक छ ।’

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न अनुगमन बढाइरहेको दाबी गर्छन् । गत आर्थिक वर्षमा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेबाट चार लाख रूपैयाँ जरिवाना गराइएको उनले जानकारी दिए ।

धूमपान र सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण गर्न देशभरका जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन समिति गठन गरिएको र नियमित अनुगमन भइरहेको उनले बताए ।

उनका अनुसार काठमाडौं महानगरले पनि अन्तर्राष्ट्रिय स्तरमै महानगरलाई धूमपान निषेध बनाउने प्रतिबद्धता गरेको छ । यसले पनि महानगरका सार्वजनिक स्थलमा धूमपान निषेध हुने उनको अनुमान छ ।

यसका लागि जनचेतना अपनाउनुपर्ने र नियमन गर्नुपर्ने उनको भनाइ छ ।

एक सर्वेक्षणअनुसार मुलुकको जनसंख्याको झन्डै ३१ प्रतिशतले सूर्तीजन्य पदार्थ सेवन गर्छन् । विश्वमा सूर्तीजन्य पदार्थको ८० प्रतिशत खपत अल्पविकसित देशमा हुने गरेको छ ।

विज्ञहरूका अनुसार धूमपानले ब्रेनमा केही सेकेन्डभित्रै र रगतमा केही मिनेटमै असर गर्छ । दीर्घकालीन रूपमा धूमपानको बहुअसर देखिन्छ । धूमपानकै कारण मुटु, ब्रेन, फोक्सो र क्यान्सर रोग बढ्दै गएको चिकित्सक बताउँछन् ।

धूमपानमा निकोटिन, टार, कार्बनमनोअक्साइड, लिड, नाइट्रोसोमाइन जस्ता क्यान्सरजन्य चार हजारभन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थ हुन्छ । सूर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, दमखोकीजस्ता २५ भन्दा बढी प्रकारका रोग निम्त्याउँछ । चिकित्सकका अनुसार एक खिल्ली चुरोटमा २० मिलिग्राम निकोटिन हुन्छ ।

चिकित्सकका अनुसार धूमपानले शरीरका मसिना जिन एवं क्रोमोजोमलाई नष्ट गर्ने भएकाले क्यान्सर लाग्ने खतरा हुन सक्छ । त्यसैगरी गर्भवती महिलाले धूमपान गरे बच्चाको विकास क्रममा अवरोध उत्पन्न भई महिना नपुग्दै जन्मिने, कम तौलको जन्मिने जस्ता समस्या गराउँछ ।

प्रतिक्रिया दिनुहोस