मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति


१० असार २०७५, आइतबार


मोरङ । मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।

उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको आरोप स्थानीय गणेश दाहालको छ ।

उनले भने– “छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ तर कतै दुई इन्च, त कतै तीन इन्च मोटाइमा ग्राभेल भएको छ, यसवारे नगरपालिकामा पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन् ।”

सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ । ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने–“नियमक निकाय किन आँखा चिम्लेर बसेको छ ?।”

मापदण्ड अनुसार सडक ग्राभेल भए वा नभएको विषयमा इन्जिनियरले अनुगमन नै नगरी हचुवाको भुक्तानीका लागि सिफारिस गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए ।

सडक अनुगमन समितिका संयोजक एवं उर्लाबारी वडा नं. ६ का सदस्य अम्बिका तामाङले मापदण्ड अनुसार नै सडक ग्राभेल भएको दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस