मनसुन विस्तारै सक्रिय बन्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनसुन विस्तारै सक्रिय बन्दै


९ असार २०७५, शनिबार


काठमाडौं । मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन ।

सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमानसहित महाशाखाले घोषणा गरेको थियो ।

अहिले कमजोर रहेको मनसुन क्रमिकरुपमा विस्तारै बलियो हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“मनसुन विस्तारै सक्रिय बन्दै गएको छ, देशका पूर्व र मध्य क्षेत्रमा यसको गतिविधि देखिन्छ । पश्चिमी भेगमा भने पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ”, उनले भने ।

आज साँझ काठमाडौं उपत्यकासहित मध्य र पूर्वका विभिन्न क्षेत्रमा वर्षा हुने देखिएको छ । देशका विभिन्न भागका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ ।

असारमा धान रोप्ने मुख्य मौसममा पर्याप्त वर्षा नहुँदा किसान खिन्न भएका छन् । काठमाडौं उपत्यका आसपासका फाँटमा समेत वर्षाको अभावमा रोपाइँ हुन सकेको छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा ३६ तथा दीपायलमा २० मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा ६, भैरहवामा ८, दाङमा ७ र ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम २९।५ र न्यूनतम २०।४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस