पशुपन्छीले पाउँदैनन् गुणस्तरीय आहार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पशुपन्छीले पाउँदैनन् गुणस्तरीय आहार


७ असार २०७५, बिहिबार


काठमाडौं । अधिकांश पशुपालक किसान तथा व्यावसायीलाई एउटा चिन्ता हुन्छ– उत्पादन कसरी बढाउने ? उत्पादन नबढ्दा कतिपय व्यवसायी घाटा पनि बेहोर्छन् । तर, उनीहरू पशुपन्छीको आहारमा ध्यान दिँदैनन् ।

अधिकांश किसानले पशुपन्छीलाई दिइने गुणस्तरीय आहारमा चासो नदिएको पशु प्राविधिक बताउँछन् । ‘ग्रामीण क्षेत्रका पशुपालकलाई त पशुलाई दाना खुवाउनुपर्छ भन्ने पनि जानकारी छैन,’ डडेलधुराको नवदुर्गा गाउँपालिकास्थित पशु सेवा केन्द्र शाखाका पशु प्राविधिक चेतराज अवस्थी भन्छन्, ‘व्यावसायिक रूपमा कुखुरापालन गर्नेले दाना खुवाउँछन् । तैपनि उनीहरूले दानाको गुणस्तरीयताबारे चासो राख्दैनन् ।’ यसले पशुजन्य उत्पादन अपेक्षा अनुरूप बढ्न नसकेको उनको बुझाइ छ ।
‘यद्यपि, सहरमा व्यावसायिक रूपमा पशुपन्छी पाल्नेहरूले भने यसको गुणस्तरीयताबारे चासो दिएका छन्,’ उनले भने ।

गुणस्तरीय आहार नपाउँदा वृद्धिविकासमै असर
लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाका पशु विकास अधिकृत जनकबहादुर धामी पशुपन्छीको आहारा गुणस्तरीय नभए पशुपन्छीको वृद्धि विकासमै असर पुग्ने बताउँछन् । ‘आहारा पोसिलो र गुणस्तरीय छैन भने पशुपन्छीको वृद्धि विकास हुन सक्दैन । न प्रजनन गर्न सक्छ, न त उत्पादन गर्न सक्छ,’ पशु विकास अधिकृत जनकबहादुर धामी भन्छन्, ‘पशुपन्छीबाट प्रजनन् भएन र उत्पादन भएन भने त त्यही ब्लक भइहाल्यो । गुणस्तरहीन आहार उपभोगबाट उत्पादन भयो भने पनि त्यसबाट उत्पादन हुने चिज गुणस्तरहीन हुन्छ ।’

तर, अधिकांश पशुपालकले यसबारे चासो नदिएको उनीहरूको बुझाइ छ ।

पशुपन्छीको आहारामा ध्यान दिन नसक्दा आम पशुपन्छीपालन व्यवसायीदेखि उपभोक्तासम्म त्यसको मार खेप्नु परिरहेको हुन्छ । गुणस्तरहीन दाना पशुपन्छीलाई खुवाउँदा त्यसले राम्रो उत्पादन दिन सक्दैन भने कतिपय अवस्थामा गुणस्तरहीन दानाकै कारण पशुपन्छीहरुको मृत्यु हुन गई ठूलो धनजनको क्षतिसमेत पुग्दछ । त्यतिमात्र हैन गुणस्तरहीन आहाराको प्रयोगले गुणस्तरहीन तथा अश्वस्थ उत्पादन हुने र सोको उपभोगबाट मानिसहरुमा समेत प्रतिकुल असर पर्न गई बिभिन्न रोगहरु लाग्न सक्ने धामी बताउँछन् ।

आधुनिक दाना उद्योग थपिँदै
पशुपन्छीको व्यापार बढेसँँगै आधुनिक दाना उद्योग थपिएका छन् । मुलुकभर एक सय तीन आधुनिक सुविधासम्पन्न दाना उद्योग सञ्चालनमा छन् ।

‘दशकदेखि केही दाना उद्योगहरू आधुनिकीकरण भएका छन्,’ प्रयोगशालाका बरिष्ठ पशु विकास अधिकृत जीवलाल लम्साल भन्छन्, ‘पहिला धुलो दाना उत्पादन हुन्थ्यो भने अहिले प्लेटमा उत्पादन हुन्छ । धुलो दानाभन्दा प्लेट दानाबाट बढी फाइदा भएकोले अहिले संसारभरी नै पेलेट दाना उत्पादन गर्ने प्रचलन आएको छ । हामीकहाँ पनि ५०/६० भन्दा बढी प्लेट दानाका ठुलास्तरका उद्योगहरु नेपालमा संचालन भइरहेका छन् ।’

पशुपन्छीलाई खुवाउने दाना कस्तो छ ? स्वस्थकर छ कि छैन ? यसमा न राज्यको ध्यान पुगेको छ न त व्यवसायीको नै ।

पशुपालन क्षेत्रको समग्र विकासका लागि देशव्यापी रूपमा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाको टड्कारो आवश्यकता रहेकाले सबै प्रदेशमा कम्तीमा एक/एक लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाको अनिवार्य स्थापना गरिनुपर्छ । यसमा सरोकारवाला निकायको ध्यान पुगोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस