नारायणगढ–मुग्लिन सडकमा दुर्घटना रोक्न अभियान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना रोक्न अभियान


४ असार २०७५, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडकमा सम्भावित दुर्घटना रोक्न प्रहरीले कारवाही अभियान थालेको छ । सवारी चालकले तीव्र गतिमा सवारी चलाउने र ओभरटेक गर्न थालेपछि प्रहरीले कारवाही अभियान थालेको हो ।

तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेपछि गति मापन यन्त्र ‘राडार गन’ प्रयोग गरेर कारबाही अभियान थालिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेक गर्ने ३५ चालकलाई नियन्त्रणमा लिइएको थियो ।

सडकखण्डका विभिन्न ठाउँमा सवारीको चेकजाँचका लागि प्रहरी खटाइएको उनले बताए ।

‘टाइम कार्ड’ लागू गर्ने तयारी
जिल्ला ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी थालेको छ । यसले दुर्घटना न्यूनीकरण हुने प्रहरीको ठम्याई छ ।

सडक चौडा भएसँगै चालकले तीव्र गतिमा सवारी चलाउने गरेको ट्राफिक प्रहरी बताउँछन् । तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस