‘भूक्षयीकरण नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘भूक्षयीकरण नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो’


३ असार २०७५, आइतबार


काठमाडौं । वन तथा वातावरण मन्त्रालयले भूक्षयीकरण न्यूनीकरणका लागि अन्तर्राष्ट्रियरुपमा सरोकारवालाबीच सामूहिक प्रयासको खाँचो रहेको जनाएको छ ।

मरुभूमिकरण विरुद्धको विश्व दिवसका अवसरमा मन्त्रालयले आज विज्ञप्तिमार्फत भूक्षय तटस्थताको लक्ष्य प्राप्त गर्न र खडेरीका प्रभावलाई घटाउन साझेदारी सहयोग बढाउन पर्नेमा जोड दिएको हो ।

‘मरुभूमिकरणविरुद्धको संयुक्त राष्ट्रसंघीय सन्धि’ (युएनसिसिडी) को नेपाल सन् १९९७ देखि सदस्य राष्ट्र रहिआएको छ । यो सन्धि सन् १०९४ जुन १७ मा स्वीकारिएको हो ।

यस दिवसका अवसरमा सन् १९९५ देखि नै मरुभूमिकरण र भूक्षयीकरण विरुद्ध अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रिय प्रयत्नका साथै जनचेतनाका लागि प्रोत्साहन दिइँदै आइएको छ ।

‘भूमिको वास्तविक मूल्य–यसमा लगानी’ यस वर्षको नारा रहेको छ । यस अवसरमा अर्गानिक र उचित व्यापार उत्पादनमा लगानीमार्फत भूमिको दिगो व्यवस्थापनमा प्रोत्साहनका लागि संरक्षण गर्न जोड दिइएको छ ।

नेपालले भूक्षय र सुक्खा न्युनिकरणका लागि गैरसरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा जनचेतनालगायत कार्यक्रमलाई उच्च बढवा दिनुका साथै राष्ट्रिय कार्ययोजना बनाई लागू गरेको मन्त्रालयले जनाएको छ ।

टर्कीमा भएको युएनसिसिडी कोप–१२ देखि नै नेपाल भूक्षयीकरण न्यूनीकरणका कार्यक्रममा संलग्न भएको हो । सरकारले भूमिको स्रोतमा नेतृत्वका लागि लैंगिक समानतालाई बढवा दिन विशेष योजना र कार्यक्रमको प्रावधान अघि बढाएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस