सुख मात्र हैन जीवन आत्तिएर हुन्न बुझ्यौ
खोस्टा ठानी दुखलाई पाछिएर हुन्न बुझ्यौ !
कस्तो बन्नुपर्छ फलले सिक्नुपर्छ अम्बासित
फँडीरसरि गार्लाम्- गुर्लुम् भाँचिएर हुन्न बुझ्यौ ।
हेरेका छौ मुसललाई कति खप्छ पीडा उसले
हावा चल्दै पहाडले त खिएर हुन्न बुझ्यौ !
जाडो छल्न मात्र हो र लाज पनि त ढाक्नैपर्छ
गर्मी भयो भन्दै छ्याङ्ग नाङ्गिएर हुन्न बुझ्यौ !
उठ्नैपर्छ ग्वालटारले भन्छ समय “ग्वालटारे”लाई
तोडौं माखेसाङ्ग्लो भन्छ बाँधिएर हुन्न बुझ्यौ !