नारायणगढ–मुग्लिन सडक सञ्चालनमासँगै हवाई यात्रुको चाप घट्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नारायणगढ–मुग्लिन सडक सञ्चालनमासँगै हवाई यात्रुको चाप घट्दै


३१ जेष्ठ २०७५, बिहिबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।

जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौं आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार अहिले यात्रुको चाप ४० प्रतिशतले कमी आएको छ । एक महिनाअघि दैनिक १४ देखि १६ वटासम्म उडान भएको भरतपुर विमानस्थलबाट अहिले दैनिक आठ वटामा झरेको छ ।

बिहानको समयमा उडान नहुनु र सडक सहज हुनुका कारण हवाईजहाजको यात्रा गर्नेमा कमी आएको उनले बताए। यस क्षेत्रका व्यवसायीसँग आफ्नै सवारीसाधन भएका कारण जहाजको यात्रा गर्नुभन्दा बिहानको समयमा गाडीमा नै यात्रा गर्ने गरेको प्रमुख गौतमले बताए ।

सडक निर्माणका क्रममा दिनको समयमा सवारी आवागमन रोकिएको र त्यसको चाप बिहान बेलुका परेपछि धेरैको रोजाइ हवाई यात्रा भएको थियो । अहिले पर्यटक आउने समय पनि नभएकाले हवाई यात्रा गर्नेको संख्यामा कमी आएको बुद्ध एयरलाइन्सका शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए ।

मौसममा आएको परिवर्तन र लामो समय कुर्नुपर्ने बाध्यताका कारण यात्रुले विकल्प खोजेको हुन सक्ने उनको भनाइ थियो । दिनभर विमानस्थलमा बसेर मौसम र काठमाडौं विमानस्थलमा ट्राफिक जाम भन्दै उडान स्थगित भएपछि जानै नपाउने बाध्यता एकातर्फ छ भने भाडादर उच्च भएको र मितव्ययी टिकट नदिँदा पनि यात्रु रुष्ट थिए ।

कुनै समय दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयर अहिले दैनिक पाँचवटामा झरेको छ । जसमध्ये चारवटा काठमाडौं–भरतपुर र एउटा भरतपुर–पोखरा उडान गर्दै आएको छ । एति एयरलाइन्सले भरतपुर–काठमाडौं दैनिक पाँच वटासम्म उडान गर्दै आएकामा अहिले दुईवटा मात्रै उडान गर्दै आएको छ । सिम्रिक एयरले भरतपुर–काठमाडौं पहिलेदेखि नै एउटामात्रै उडान गर्दै आएको छ ।

यति एयरलाइन्स भरतपुरका शाखा प्रमुख राजेश सिंहले सडक निर्माणसँगै यात्रुको चाप पहिलाको तुलनामा घटेको बताए । पहिलेको तुलनामा यात्रुको चाप ४० देखि ५० प्रतिशतसम्म कमी आएको उल्लेख गर्दै उनले भने, “नरायणगढ–मुग्लिन सडक सञ्चालनमा आएसँगै यात्रुको चापमा कमी आएको छ ।”

भरतपुर विमानस्थलबाट पहिला दैनिक एक हजारको हाराहारीमा यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले सो संख्या घटेर ५७५ मा झरेको छ । रासस

प्रतिक्रिया दिनुहोस