दाइजोबारे मन्त्रीलाई प्रश्न गर्दा कार्यक्रम बन्द ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाइजोबारे मन्त्रीलाई प्रश्न गर्दा कार्यक्रम बन्द !


३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रम सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको कार्यक्रम प्रस्तोता राजु थापाले आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत् मन्त्री बाँस्कोटामाथि आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘केही दिनअघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले लाइभ अन्तर्वार्ता दिँदा झुट बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर उक्त कदम चालेका हुन् ।’

सो अन्तर्वार्तामा उनले आफूले पाएको दाइजोबारे झुटो बोलेका थिए ।

‘मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो । दाइजोको विषय आएपछि बढी तनावपूर्ण भयो,’ थापाले भने,’ कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें । उहाँ केही नबोली हिँड्नुभयो । हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो ।’

नेपाल टेलिभिजनले भने मन्त्रीको आदेशमा कार्यक्रम बन्द नभएको जनाएको छ । टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको संलग्नता नरहेको बताएका छन् । ‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस