किसान आलु खेतीतर्फ आकर्षित « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

किसान आलु खेतीतर्फ आकर्षित


२८ जेष्ठ २०७५, सोमबार


डडेल्धुरा । विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् ।

परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् ।

जिल्लाका कृषकका लागि आलु मुख्य आयस्रोतका रुपमा रहेको छ । आलु नगदे तरकारी बाली हो । आलु बिक्री गरी कृषकले वार्षिक रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दैआएका छन् ।

सिँचाइको सुविधा नहुँदा बाँझो रहने यहाँका खेत अहिले आलु खेतीले हरियाली भएका छन् । अशिग्राम गाउँमा मात्रै कृषकले आलु बिक्रीबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गदैआएका वडाध्यक्ष चेतराज भट्टले बताए। जिल्लाका उच्च पहाडी भेगका बासिन्दाले अर्गानिक आलु उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

वन जगंलमा पाइने स्याउला सोत्तरको रुपमा प्रयोग गरी गाईगोरुको मलमूत्रबाट तयार गरिएको मल मात्रै खेतबारीमा हाल्ने गरेको भट्टले बताए ।

मलमूत्रबाट नै तयार पारिएको विषादी प्रयोग गर्ने गरेको अजयमेरु–१ का कलावती भण्डारीले बताए । गन्यापधुराको भात्काँडा, साहुखर्क, जर्मना, लेक तथा अमरगढी नगरपालिका–१ तडिवाटा, मालम, मडुवा, मौरडा, वडा नं २ भेल, मतरगाउँ, कारिगाउँ–३ घटाल, साउनगाउँ, चमसाल, चिरकिट्ट–७ सल्लागाउँ, अनानरखोली, भालुमारे–८ टाटार र आलिताल गाउँपालिकाको गंखेत, हगुलटे, गैरा लगायत ठाउँमा कृषकले सयौँ रोपनीमा आलु खेती गरी पर्याप्त आम्दानी गर्दैआएका छन् ।

अजयमेरु गाउँपालिको समैजी, अजयमैरु, भद्रपुर लगायतका क्षेत्रका कृषकले पनि आलु खेतीबाट वार्षिक मनग्य आम्दानी गरिरहेका शिखरसमैजी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

आलु खेतीका लागि थोरैै सिँचाइका साथै जंगली जनावरले पनि कम क्षति पु¥याउने भएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । आलु खेती गर्न थालेका कृषकले एउटा याममा दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । बाह्र वर्ष अघि जर्माना लेकमा आलु खेती गर्दै आएका पदमबहादुर बोहराले शुरुवातमा दुई क्विन्टल आलुको बीउ रोप्नु भएको थियो । हाल उनले करीब १५ क्विन्टल आलुको बीउ लगाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले अनुदानमा बीउ दिन थालेपछि १५ क्विन्टल बीउ लगाएको उनको भनाइ छ । ‘पहिले पाँच÷सात क्विन्टल लगाउँदा वार्षिक रूपमा खर्च कटाएर रु एक लाखसम्म फाइदा हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष आठ लाखदेखि १० लाखसम्म आम्दानी हुने विश्वास छ ।’ उनले मकै लागाउने खोतबारीमा विगत वर्षदेखि आलु खेती गर्दै आएका छन् ।

पहिला मकै रोपेर पाँच÷छ क्विन्टल फले पनि भालु, बँदेललगायत जनावरले खान थालेपछि आलु खेती गर्न थालेको भोजराज महता बताउँछन् । उनले आलुखेती गर्न थालेको चार वर्ष भयो । महताले यस वर्ष २० क्विन्टल आलुको बीउ रोपेको छ । उत्पादित आलु प्रतिक्विन्टल तीन हजारमा बिक्री हुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त क्षेत्रलाई आलु उत्पादनका लागि सुपर जोन क्षेत्र घोषणा गरेपछि कृषक आलु खेतीतर्फ आकर्षित भएका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए । सुपर जोन कार्यक्रमअन्तर्गत आलु उत्पादनका लागि कृषकले आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेका छन् । अहिले अमरगढी, आलिताल र गन्यापधुराका कृषकले आलुलाई आफ्नो मुख्य बालीका रूपमा अगाडि बढाएका छन् ।

जिल्लाका अन्य क्षेत्रका कृषकले पनि आलुलाई मुख्य पेशाका रुपमा लिन थालेका छन् । आलु जिल्लामा तीन पटकसम्म फल्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिबहादुर विष्टले बताए । ‘तीन–तीन महिनाको फरकमा आलु उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस