दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य


२८ जेष्ठ २०७५, सोमबार


तेह्रथुम । सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् ।

सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् ।

गत चैतबाट जिल्ला स्वास्थ्य कार्यालयले आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित मातहतका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको थियो । त्यसयता सुरक्षित गर्भपतनका लागि चौतर्फीरुपमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।

समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले पनि वसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा यौन तथा प्रजनन अधिकार सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ ।

मार्च ८ मा महिला दिवसको अवसरमा महिला अधिकारकर्मी र सरोकारवालाले जिल्लामा आगामी दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्यमा पु¥याउने घोषणा गरेका थिए ।

असुरक्षित गर्भपतनका कारण महिलाको ज्यानै गुम्ने खतरा हुने भन्दै त्यसको निराकरणका लागि जिल्लामा सुरक्षित गर्भपतन सेवा विस्तार गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले बताए । उनले भने, ‘असुरक्षित गर्भपतनले ज्यानै गुम्ने खतरा हुने भएकाले त्यसलाई घटाउन परिवार नियोजनका साधनबारे सचेतना जगाउने र अनिच्छित गर्भपतनका लागि सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन भएको हो ।’

सुरक्षित गर्भपतन सेवा निःशुल्करुपमा सरकारी संस्थाबाटै गोप्यरुपमा पाउन थालेपछि सुरक्षितरुपमा सेवा लिनेको संख्या बढीरहेको छ । तीन महिनाको अबधिमा जिल्ला अस्पतालबाट मात्रै १२७ जनाले र मोराहाङ स्वास्थ्य चौकीबाट १५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

यस्तै सक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्रमा २६, वसन्तपुरमा १२, ओयाक्जुङमा १०, पोक्लाबाङमा सात, हमरजुङ, आम्बुङ, सोल्मा र ओख्रेमा छ–छ र इवामा पाँचजनाले सुरक्षित गर्भपतन सेवा लिएका आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले बताए ।

उनका अनुसार समुदायका महिलालाई यससम्बन्धी जानकारी गराएपछि स्वास्थ्य संस्थामा आएर सेवा लिनेको संख्या ह्वात्तै ठूलो देखिएको बताए । सेवा शुरु भएको छोटो समयमै धेरै महिलाले सेवा लिनुले यसअघि असुरक्षित गर्भपतनको दर ठूलो थियो भन्ने अनुमान सरोकारवालाको छ ।

जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष इङ्वा सुब्बाले भने, ‘महिलाका आफ्नै बाध्यता हुन्छन्, अनिच्छित गर्भ भयो भने कसैले थाहा पाउँला कि भन्दै गर्भपतन गर्नुपर्ने अवस्था अब नभएको र गोप्य, निःशुल्क र सुरक्षित सेवा पाउन थालेपछि यो संख्या उच्च देखिएको हो ।’ उनले सुरक्षित गर्भपतनबारे ज्ञान नहुँदा महिलाले जोखिम मोलेर असुरक्षित गर्भपतन गर्ने गरेका बताए ।

जिल्ला अस्पतालका डा. रोहितकुमार झाले जिल्लामा परिवार नियोजनका साधनको प्रयोगको दर ज्यादै कमी र गर्भपतन गराउनेको संख्या बढेकाले असुरक्षित यौन सम्पर्क बढेको जानकारी गराए ।

उनले भने, ‘जब असुरक्षित यौन सम्पर्क हुन्छ, तब अनिच्छित गर्भको सम्भावना उच्च हुन्छ, अनि असुरक्षित गर्भपतन त हुने नै भयो ।’ ग्रामीण क्षेत्रमा जानकारी अभावका कारण परिवार नियोजनका साधनको प्रयोग नगर्ने गरेको र जोखिम मोलेर गर्भपतन गराउने बढी देखिएकोे डा. झाले बताए ।

हाल जिल्लामा जिल्ला अस्पतालसहितका १४ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जसमा वसन्तपुर र संक्रान्तिबजार प्राथमिक स्वास्थ्य केन्द्र तथा चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङ्बुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकी छन् । ती स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम मापदण्ड पूरा गरी तालीमप्राप्त २६ जना स्वास्थ्यकर्मी परिचालित छन् ।

स्वास्थ्य चौकीबाट नौ महिनासम्मको गर्भ औषधिको प्रयोग गरी पतन गर्न सकिने सुविधा छ । प्राथमिक स्वास्थ्य केन्द्रमा तालीम प्राप्त डाक्टरबाट १२ हप्तासम्मको गर्भ र जिल्ला अस्पतालमा कानूनले तोकेबमोजिम सबै प्रकारका गर्भपतन गर्न पाइने सुविधा उपलब्ध छ ।

असुरक्षित गर्भपतन गर्नेहरु धेरैले औषधिको प्रयोग गरी गर्भपतन गर्ने गरेका थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा औषधि व्यवसायीसँग समेत परामर्श गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. शाहले बताए। औषधि व्यवसायीले समेत कानूनबमोजिम सुरक्षित गर्भपतन सेवा प्रवर्दनका लागि सहयोग पु¥याउने बताए ।

वि.सं. २०५९ मा गर्भपतनले कानूनी मान्यता पाएकामा सरकारले २०७३ सालदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवाको शुरुवात गरेको थियो । नेपालमा सन् २००९ को तथ्यांकअनुसार कूल मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनका कारण हुने गरेको छ ।

कानूनीरुपमा गर्भपतनले मान्यता पाएको यतिका समय बिते पनि प्रजनन उमेरका ४१ प्रतिशत महिलाले मात्रै त्यसबारे थाहा पाएको तथ्यांक छ । नेपालमा कूल गर्भवती महिलामध्ये १९ प्रतिशत महिलाले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । एक सर्भेक्षण अनुसार नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेकामा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस