फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता सुरु गरेको छ ।

विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ ।

हालै दुई मन्त्रीसहित सरकारमा आएको उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकताका लागि अनौपचारिक छलफल भइरहेको छ । सो प्रक्रियाले प्रदेश नं २ को सत्ता गठबन्धनमा हेरफेर हुन सक्ने समेत देखिएको छ । प्रतिनिधिसभामा फोरमका १५ सांसद् तथा नयाँ शक्तिका एक सांसद् छन् ।

यही जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई दल दर्तासँगै विधान प्रकाशन र मातहतका कमिटीको एकताको आन्तरिक प्रक्रियामा जुटेको नेकपाले अन्य समूहसँगको एकतालाई खुला राखेर अनौपचारिक वार्ता चलाएको छ ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘मुलुकको समृद्धिका लागि विगतमा फरक स्कुलिङबाट आएका र एक प्रकारले प्रतिष्पर्धी रहेका एमाले र माओवादी केन्द्रको ऐतिहासिक एकता सम्पन्न भइसकेको छ । अब अन्य कम्युनिष्ट र समूहसँगको एकताका लागि पनि हामीले खुला राखेका छौँ ।’

नेता पौडेलले चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गर्नुभयो । उनका अनुसार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका अधिकांश नेता पनि एकता र सहकार्यका लागि निरन्तर सम्पर्कमा छन् ।

उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक चरण छलफल भइसकेको छ । डा भट्टराई र फोरमका अध्यक्ष यादवले सकेसम्म पार्टीको नाममा कम्युनिष्ट नराखी समाजवादी राख्न सुझाव दिएको बताए । फोरमले आफ्नो राजनीतिक दस्तावेजमा माक्र्सवादी सिद्धान्तलाई मानेकाले एकतामा अन्य समस्या नभएको पौडेलको भनाइ छ ।

गत असोज १७ गते एमाले र माओवादी केन्द्रको चुनावी तालमेलको घोषणा भएको दिन नयाँ शक्ति पनि सामेल भएकामा पछि तालमेलबाट अलग भएको थियो । ‘नेता डा. भट्टराईलाई ल्याउनुपर्छ, एक्लो महावीर भएर कहीँ पुगिन्न, सबै एक भएर जानुपर्छ’, पौडेलले आज केही सञ्चारकर्मीसँग भने, ‘मुलुकको शासकीय स्वरुपका विषयमा पनि नेकपा, फोरम, नयाँ शक्तिबीच करिब समान मत छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादी केन्द्र, फोरम र नयाँ शक्तिले कार्यकारी राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । अहिले सदन र सरकारमा दुई तिहाइ पुगेको छ, अनुकूल समयमा मुलुकको स्थिरताका लागि यो प्रणालीमा जानका लागि हामीले बहस पनि चलाइरहेका छौँ ।’

नेता पौडेलले जनताको चाहना र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई साथमा लिएर तथा छिमेकी भारत र चीनसँग सम्बन्ध विस्तार गरी चुनावी साझा घोषणापत्र, सरकारको नीति तथा कार्यक्रम र बजेट एवं प्रधानमन्त्री ओलीका प्रतिबद्धतालाई पूरा गरी विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले वर्तमान सरकारले सुरुङमार्ग, रेलमार्ग, द्रुतमार्ग, मदन भण्डारी मार्ग र केही ठूला परियोजना अगाडि बढाउन नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरेको छ भन्दै आगामी पाँच वर्ष विकासको आधार तयार पार्ने र अर्को पाँच वर्ष नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने सरकारको सोच रहेको बताए । उनले भने, ‘सरकार र सदनमा दुई तिहाइ समर्थन भएकाले न्यायालय र अन्य निकायले पनि विकास र समृद्धिका काममा कुनै अवरोध नगर्ला । यस अवसर र चृुनौतीलाई सरकार र पार्टीको नेतृत्वले उपयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस