बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित


२४ जेष्ठ २०७५, बिहिबार


संयुक्त राष्ट्रसंघ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)को जानकारी अनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट एक हजारभन्दा बढी बालबालिका अपहण गरी लगेको कुरा सार्वजनिक गरे लगत्तै बिहीबार यो समाचार आएको छ ।

लडाकूहरुले बालबालिकालाई लक्ष्य गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेका जनाइएको छ । उनीहरुले आफ्नो विद्रोही दस्तामा जबर्जस्ती भर्ती गर्न यसरी बालबालिकालाई अपहरण गर्ने गर्दछन् ।

नाइजेरियाको उत्तर पूर्वी एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयबाट उनीहरुले ती बालबालिकालाई अपहरण गरी लगेको सुरक्षाकर्मीले जनाएका छन् ।

ती बालबालिकाको खोजीकार्य सुरु भएको छ । उनीहरुको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको यहाँको गृह प्रशासनले जानकारी दिएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा उनीहरुले १२ सयभन्दा बढी विद्यालयमा आक्रमण पनि गरेका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वव्यापीरुपमा त्यसको निन्दा भएको थियो । सरकारले ती बालबालिकाको खोजीका लागि निकै प्रयास ग-यो तर पनि सबैलाई सकुशल मुक्त गर्न भने सकेन ।

बोको हराम आतङ्ककारी समूहले बालबालिकालाई यसरी अपहरण गरेपछि जबर्जस्ती सेनामा भर्ती गर्ने, यौन शोषण गर्नेजस्ता ज्यादति गर्ने गर्दछन् । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस