पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं। पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।

सञ्चार केन्द्र नेपालद्वारा आज आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

‘सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन,’ उनले भने । अरुण तेस्रो सरकार आफैले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बीमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गरे। उनले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र काला बजारीलाई कारबाहीको नीति ल्याउनुुपर्ने बताए। केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस