नारायणगढ–मुग्लिन सडकमा पहिलो चरणको कालोपत्रे सकियो, दैनिक ६ घन्टा बन्द पनि हट्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नारायणगढ–मुग्लिन सडकमा पहिलो चरणको कालोपत्रे सकियो, दैनिक ६ घन्टा बन्द पनि हट्यो


२३ जेष्ठ २०७५, बुधबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।

‘सडक निर्माणका लागि भन्दै दैनिक ६ घण्टा गरिँदै आएको बन्द हटाइएको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’ बाटोमा कुनै अवरोध नभए अब सवारी साधनले ३० मिनेटमै यो सडक खण्ड पार गर्नेछन् ।

दोस्रो र तेस्रो चरणको कालोपत्रे पनि केही दिनमै सक्ने आयोजनाको तयारी छ । आयोजनाका अनुसार सो सडकखण्डमा पहिलो र दोस्रो तहमा ६–६ र तेस्रो तहमा चार सेमी गरी कुल १६ सेमी मोटो कालोपत्रे हुनेछ ।

३६ किलोमिटर लामो सडकखण्डमध्ये ३३ किलोमिटर एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइएको छ ।

सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति गरिएको छ । आँपटारीदेखि दासढुंगासम्मको खण्डमा भारतीय कम्पनी बिएलए र नेपाली कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (एससिसी)ले काम गरेका छन् ।

दासढुंगादेखि सिमलतालसम्मको खण्डमा भारतीय उडहिल र नेपाली लामा कम्पनी तथा सिमलतालदेखि मुग्लिनसम्मको खण्डमा भारतीय कम्पनी सुप्रिम र नेपाली कम्पनी रौताहाले काम गरेका छन् ।

दुई वर्षभित्रै सक्ने गरी सन् २०१५ अप्रिलमा सडक निर्माणको सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस