सालिकलाई पुरानै स्वरुपमा फर्काउन स्वयंसेवी अभियान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सालिकलाई पुरानै स्वरुपमा फर्काउन स्वयंसेवी अभियान


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । पुरातात्विक महत्वका सयौँ वर्ष पुराना सालिकलाई पुरानै स्वरुपमा फर्काउन ललितकला र सिर्जना कलेज अफ फाइन आर्टका विद्यार्थी स्वयंसेवी अभियानमा लागेका छन् ।

नेपाली सेनाको मुख्यालयअघिको चौर, टुँडिखेल र भद्रकाली शान्ति उद्यानमा रहेका पूर्वराजा पृथ्वीवीरविक्रम शाह, जंगबहादुर राणा, जुद्धशम्शेर र धीरशम्शेरको सालिकमा सात जना विद्यार्थीको समूहले पोतिएका रंग खुर्केर सालिकको सक्कली स्वरुपमा फर्काउन लागेको हो ।

पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा पुरातात्विक महत्वका सालिकलाई पुरानै स्वरुपमा फर्काउन लागिएको पुरातत्व अधिकृत प्रकाश खड्काले जानकारी दिए ।

स्वयंसेवीका रुपमा ललितकला क्याम्पसका पल साउद, विक्रम श्रेष्ठ, योगेन क्षत्री र कमल श्रेष्ठ सक्रिय हुन् । यसैगरी सिर्जना कलेज अफ फाइन आर्टका सुशान्तश्री राजभण्डारी, अभिजित प्रजापति र सन्तोष श्रेष्ठ सालिकमाथि चढेर रंग खुर्किरहेका छन् । वरिष्ठ मूर्तिकार विजय महर्जनको मार्गनिर्देशनमा कलाका विद्यार्थीले सम्पदा संरक्षणको काम गरिरहेका छन् ।

राणा प्रधानमन्त्रीको सालिकको काम सकी विद्यार्थीको समूहले भद्रकाली उद्यानमा रहेको पूर्वराजा पृथ्वीवीरविक्रम शाहको सालिकको स्वरुप पुरानो अवस्थामा फर्काउने काम गरिहेको छ । पूर्वराजाले घोडा चढेको यो एउटै सालिक रहेको काममा सक्रिय विद्यार्थी साउदले सुनाए ।

यी सालिक युरोपमा बनाएर ल्याई राणा शासनका समयमा यहाँ राखिएको विभागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस