प्रि मनसुनी वर्षा  : केही दिनभित्रै मनसुन भित्रने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रि मनसुनी वर्षा  : केही दिनभित्रै मनसुन भित्रने


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ ।

मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ, मौसमविद् पौडेलले भने।

सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदण्ड चाहिन्छ

नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन ।

माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ ।

मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ ।

आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौंसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस