दक्षिण एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल चुडिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल चुडिँदै


२२ जेष्ठ २०७५, मंगलबार


कञ्चनपुर । दक्षिण एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल चुँडिन थालेको छ । मर्मत सम्भार नहुँदा पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड चुँडिन थालेका छन् । एक हजार चार सय ५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् ।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिँजालीले पुल चुँडिने अवस्थामा रहेको बताए । ‘पुलमा बिछ्याइएका अधिकांश पाता र फलामे डोरी चुँडिन थालेकाले जुनसुकै बेला पनि पुल टुट्न सक्छ,’ उनले भने । पुलका नटबोल्ट खसेको र जाली च्यातिएको उनले बताए ।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताए । उनले भने, ‘पुल कुन दिन भाँचिन्छ भन्ने पिरलो छ ।’

महाकाली र भीमदत्त नगरपालिकाले मिलेर तत्काल पुलको मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

२०६१ सालमा महाकाली नदीमा बनाइएको पुल भीमदत्त नगरपालिका–१३ र महाकाली नगरपालिका–४ मा अवस्थित छ । त्यतिबेला नौं करोड ४२ लाख रूपैयाँमा पुल निर्माण भएको थियो । पुल पर्यटकको आकर्षणका रूपमा रहेको छ ।

सरकारी उदासिनताका कारण निर्माण भएको झण्डै १४ वर्षमै पुल जीर्ण बनेको स्थानीयको आरोप छ । सम्बन्धित निकायको लापर्बाहीले पुल चुँडिने अवस्थामा पुगेको स्थानीय गगन सिंहले बताए । दोधारा–चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । पुलमा दैनिक करिब तीन हजार यात्रुले ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया दिनुहोस