कतार विरुद्ध साउदी अरबले नाकाबन्दी गरेको एक वर्ष  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कतार विरुद्ध साउदी अरबले नाकाबन्दी गरेको एक वर्ष 


२० जेष्ठ २०७५, आइतबार


दुवई । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ) ले साथ दिएका थिए । उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए ।

कतारले ‘आतङ्कबाद’लाई सहयोग पु¥याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो । उनीहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् ।

साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ ।

नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न भनिएको पनि समाचारमा जनाइएको थियो । मागमध्ये एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिनु नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए । माग तथा सर्त पुरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाए ।

राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरे । त्यसपछि सेक्टेम्बर ९ मा साउदी अरबले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।

राष्ट्रसंघसँग दुवै पक्षको उजुरी

सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरे ।

नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग-यो ।

सैन्य कारबाही गर्ने अरबको चेतावनी

कतारले रसियाली एस–४०० हवाई रक्षा प्रणाली किनेमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको छ ।

रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुनलागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको समाचार सार्वजनिक भएको छ ।

कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो ।

त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । अरबको यो चेतावनीपछि भने कतारको कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस