‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै


२० जेष्ठ २०७५, आइतबार


रुपन्देही । सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि सापकोटाले बताए ।

तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने उनको भनाइ छ । ताल आसपास निर्माण हुने थप संरचनाले प्राकृतिक सुन्दरता बढाउन मद्दत मिल्नेछ ।

तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीय समयमाई सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापा बताउछन् । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ ।

समयमाई सामुदायिक वन र समयमाई गजेडी दानापुर ताल तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नामक गैरसरकारी संस्थाले सामान्य पूर्वाधार निर्माणको काम गरेको उक्त क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ । सो तालको केही दिनअघि अवलोकन गरेर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी लिएका थिए ।

तालको विकासका लागि गुरुयोजना आवश्यक भएकामा जोड दिँदै मुख्यमन्त्री पाखरेलले सिमासार क्षेत्र वा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेबारे स्थानीयवासी स्पष्ट हुनुपर्ने बताए ।

प्रदेश नं ५ का उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीले दानापुरलगायतका क्षेत्रमा होमस्टेको स्थापना गरेर पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ भने ।

त्यस्तै सैनामैनाको गंगानगरस्थित लामीरहमा प्रस्तावित बहुउद्देश्यीय जलाशय पार्क, गैँडाहवाको गैँडाहवा ताल, गैँडाहवाकै लखनौटीस्थित तुलसीहवा तालसहित विभिन्न सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विषयमा अध्ययन, अनुसन्धान हुन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस