बजेट यथार्थपरक नभएको विपक्षीको आरोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बजेट यथार्थपरक नभएको विपक्षीको आरोप


२० जेष्ठ २०७५, आइतबार


काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि व्यापक छलफल भएको छ । सत्तापक्षका सांसदहरुले बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक रहेको बताएका छन् भने विपक्षी दलका सांसदहरुले बजेट यथार्थपरक नभएको भन्दै आलोचना गरेका छन् ।

सत्तापक्षका सांसदहरुले बजेट वस्तुपरक रहेको बताएका छन् ।

छलफमा भाग लिँदै सांसद प्रभु शाहले आगामी आवका लागि प्रस्तुत बजेट वस्तुपरक र यथार्थमा आधारित भएको र बजेट कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । सांसद भानुभक्त ढकालले सरकारले प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोध गर्ने प्रवृत्ति गलत रहेको र सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गरे ।

सांसद उमाशंकर अरगरीयाले बजेट वितरण प्रक्रिया व्यवहारिक र वस्तुपरक नभएको, हचुवाको आधारमा मात्रै विनियोजन गरिएको बताए । सांसद राजेन्द्र लिङदेनले यस्तो प्रक्रियाबाट आर्थिक समृद्धि प्राप्त गर्न नसकिने टिप्पणी गरे ।

सांसद रामेश्वरराय यादवले बजेटमा देखाएको समृद्ध नेपाल, सुखी नेपालीको सपना अत्यन्त महत्वपूर्ण भएको भन्दै प्रतिपक्षलाई साथमा लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सांसद एकवाल मियाँले बजेटले माथिबाट तल्लोस्तरमा कार्यक्रम लगेकाले प्रभावकारी नहुने भन्दै स्थानीय तहदेखि केन्द्रसम्म हुने गरी बजेट बिनियोजन हुनुपर्ने बताए । उनले बजेट असन्तुलित भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

सांसद सरिता गिरीले आर्थिक नीति तथा लक्ष्य प्राप्तिका हिसाबले बजेट सामाजिक न्यायका विरुद्ध भएको बताइन् । सांसद बिन्दा पाण्डेले सरकारले बजेटमार्फत आर्थिक वृद्धिदर आठ प्रतिशत पु¥याउने, आगामी आव भित्र पाँच लाखजनालाई नयाँ रोजगारी सिर्जना गर्ने, सिपयुक्त जनशक्तिको व्यवस्था गर्ने, निर्यातजन्य उद्योगको विकास गर्नेजस्ता विषय सकारात्मक र प्रभावकारी रहेको धारणा व्यक्त गरिन् ।

सांसद डा. नारायण खड्काले आठ प्रतिशत आर्थिक वृद्धिदरको आधार के हो भन्ने प्रश्न गर्दै बजेट ‘फोकस लेन्स’ भएको आरोप लगाए । सांसद हितबहादुर तामाङले बजेटले समाजवादको आधार तयार पार्नेमा जोड दिए ।

सांसद पुष्पाकुमारीकर्ण कायस्थले बजेटले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

सांसद प्रकाशमान सिंहले दुई तिहाई मत प्राप्त वर्तमान सरकारले बजेटमा ‘निराशाको पोको’ मात्रै ल्याएको आरोप लगाए । उनले सरकारको व्यवहार प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस