सिंहदरवार घुम्ती « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिंहदरवार घुम्ती


हरि बहादुर थापा

१९ जेष्ठ २०७५, शनिबार


मोबाइलमा अलर्ट आयो, लोक सेवा आयोगले म्यासेज पठाएको रहेछ– ‘बधाई छ । तपाईँ नेपाल सरकारको शाखा अधिकृतकोरूपमा छनोट हुनुभएको छ । जलस्रोत मन्त्रालय सिंहदरवारबाट भोलि १० बजेपछि नियुक्ति लिएर सेवा सुरु गर्नुहोला । यहाँलाई निरन्तर सफलता प्राप्त होस्… ।’

खुसीले गद्गद् भए । चार वर्षदेखि हरेक खुसीको पहिलो खबर कालीलाई सुनाउँथें । तर, यसपालि के भयो कुन्नी ! सबैभन्दा पहिला बुबालाई खबर सुनाउन मनलाग्यो । बुबाले भन्नुभयो, ‘ल राम्रो भयो, नमात्तिनू ! देशको लागि काम गर्नू ।’

अनि मेसेन्जर अन गरे, काली अनलाइन नै रैछ । मैले उसलाई तुरुन्तै म्यासेज पठाए, ‘ओई काली, आउदिनस् ।’

‘कहाँ ?’ उसले रिप्लाई गरी ।

‘त्यहीँ ।’

उसले बुझिहाली । अनि तुरुन्तै अफलाइन पनि भई ।

हाम्रो पहिलो चिनजान भएको बानेश्वरको छुक्कुबक्कु मन्दिरसँगैको ग्यालेक्सी क्याफेमा भएको थियो । अहिले त्यो हाम्रो ‘अखडा’ भएको छ । म पनि हुँइकिएँ । थापागाउँको उकालो लाग्दा फेरि म्यासेज बज्यो । क्याफेमा पुगेर हेरौला भन्ने सोचेर मैले म्यासेज हेरिन् । क्याफेमा पुगेर हेर्दा त जलस्रोत मन्त्रालयबाट उही व्यहोराको म्यासेज आएको रहेछ । भोलि १० बजे नै मन्त्रालय पुग्नुपर्ने भयो । काली मभन्दा पहिला नै क्याफेमा पुगेसकेकी थिई । भेट्नेबित्तिकै ठुस्स पर्ने उसको बानी थियो । चिउँडोमा हात राखेर निधारबाट हेरिरहेकी थिई । म पछाडिबाट गएर उसका काँधमाथि दुवै हात राखे । जुरुक्क उठेर मतिर फरक्क फर्की । अनि घोप्टे आँखा लगाउँदै दुवै ओठले गजबको टुँडो बनाई । मैले मुसुक्क हासेर उसलाई सामान्य बनाउने कोशिश गरें । उसले आदेशको शैलीमा भनी, ‘अँ भन किन बोलाएको ?’

‘मःमः खान बोलाएको । ?’ मैले भने ।

‘त्यसो भए म गएँ है ।’

यति भनेपछि उसले हिँड्ने सुर गरी । साह्रै सन्की छ यो केटी । त्यसको यही सन्काहा पारा र कहिल्यै आँसु नझार्ने बानी नै मलाई साह्रै मनपर्छ ।

मैले उसलाई म्यासेज देखाए । यो मोबाइल सेट कालीले नै मलाई दिएकी हो । बेरोजगार हुनुको सुविधास्वरूप पाएको भने पनि हुन्छ । पहिला मसँग स्मार्टफोन थिएन । मोबाइल उपहार पाएपछि च्याट र भिडियो कलले हाम्रो माया पनि मजबुद बनाउँदै लगेको छ । म्यासेज देखेपछि ऊ साह्रै खुसी भई । अनि ग्वामल्वांग अँगालो हाली, ऐतिहासिक छलाङ मार्दै । आज हाम्रो मायाले एक स्टेप पार गरेजस्तो लाग्यो । लोकसेवा परीक्षा पास गरेकोभन्दा यसको एक स्टेप अग्रगमनले पो मलाई बढी खुसी दिएको अनुभूति भयो । नत्र अहिलेसम्म अँगालो मार्न त के, हात समाउँदा पनि आँखा तरेर खाउलाझै गर्थी ऊ । अरु कुनै औपचारिक कुरा भएनन । सायद म अलि सिरियस पो देखिए कि । अनि सधैझैँ बिल तिर्न अघि सरी ।

मैले भने, ‘अब त म पनि रोजगार भएँ, पख म तिर्छु आज ।’

ऊ प्रियंका कार्की हाँसेझै मचक्क हासी । भनी, ‘भोलिदेखि है ।’

त्यो दिन छुट्टिने बेला पनि अरु दिनभन्दा अलि सिरियस देखिन्थी ऊ ।

भनी, ‘गुडलक डल्ले ।’

ऊ मलाई डल्ले नै भन्छे । हुन त म ऊभन्दा अग्लै छु (५ फिट ७ इन्च) । तर, खै किन हो ऊ मलाई घरिघरि डल्ले भन्थी ।

मैले पनि ऊ काली भएर ‘काली’ भनेको होइन । मलाई काली भन्दा मज्जा आउथ्यो । अनि ऊ पनि दंग पर्थी । कहिलेकाही सोच्छु, साच्चिकै काली भएको भए के गर्दी हो ।

त्यो राति १२ बजेसम्म निद्रा परेन । जन्माउने, हुर्काउने पढाउने बुबाले वर्षौसम्म बदल्न नसकेको मलाई अपरिचित कालीले दुई दिनमा बदलेर देखाइदिई । बुबा श्री ५ को सरकारको जागिरे भएकोले हामीलाई सामान्य कुरामा कुनै कमी भएन । सामाजिक रवाफका साथ हाम्रो पालनपोषण र शिक्षादिक्षा दिलाउनु भएको थियो । बिए पास गरेकी दिदीको बिहे पनि कृषिका हाकिमसँग धुमधामसँग गरिएकै थियो । बाँकी म एकजना थिए, अब बाटो समाउन । मैले १० कक्षा पास गरेदेखि नै बुबाले मलाई सरकारी जागिर खाएको हेर्न चाहनुहुन्थ्यो । यसैको लागि विज्ञान पढाउनुभयो, मेरो खास रुचि नभए पनि । इन्जिनियर बनाउने उहाँको रहर थियो । तर, पुल्चोक क्याम्पसमा छात्रवृत्तिमा नाम ननिस्केपछि मलाई सजिलो भयो । र, मेरो स्वाभिमान ओकले । म प्राइभेट कलेज पनि पढ्दिनँ अनि पुल्चोकमै पनि पैसा तिरेर पनि पढ्दिनँ भनेपछि बुबाले मिनभवन क्याम्पसमा बिबिएसमा भर्ना गरिदिनुभयो । यतिन्जेल बुबा रिटायर्ड भइसक्नुभएको थियो । त्यसैले अब पहिलाजस्तो रवाफ र सामाजिक उचाई पनि थिएन । बूढाले हार खाएछन, अनि कर पनि गरेनन् । त्यसपछि सुब्बाको लागि लोकसेवा दिनुपर्याे भनेर दबाब आउन थाल्यो । बुबाको जागिरे जीवनलाई मैले निकै नजिकबाट महसुस गरेको थिएँ । हिजो पदमा हुँदाको शैली, मानिसहरूको भीडभाड, बुबासँग ‘खुसामद’ हुने विषयवस्तुहरू, अनि उहाँको पछाडि उहाँबारे गरिने टिप्पणी । यी सबै चिजसँग म राम्रो जानकार थिए । उहाँको सफलताले मलाई आकर्षण गर्न सकेको थिएन । तैपनि बुबाको सामुन्ने यि विषयवस्तुहरू बहस गर्ने रुचि र आवश्यकता दुवै रहेन ।

अब त बुबा रिटायर्ड भएपछि उहाँको जीवनमा आएका परिवर्तनले त झन् मलाई सरकारी जागिरप्रति निरुत्साहित गराएको थियो । सायद, मेरो उमेरगत जोशको प्रभाव पनि होला । लोकसेवाको फाराम खुलेको जानकारी, फाराम भर्नुपर्ने म्याद, कोचिङ सम्बन्धी जानकारी आदि विषयमा मेरो ध्यानाकर्षण गर्नुहुन्थ्यो । तर, मलाई रुचि नै थिएन । फाराम भरिदिने, तयारीका किताव ल्याइदिने अनि कोचिङ क्लाससमेत भर्ना गरिदिनुभएछ बुबाले । मलाई यस्तो लाग्थ्यो, उहाँ फुर्सदिलो हुनुहुन्छ, त्यसैले यो सबै गरिरहनुभएको छ । मलाई उहाँको यो बानीले साह्रै गारो परेको थियो । वास्तवमा म डिस्टर्व थिए । केही नलागेर उहाँले भिनाजुलाई समेत काउन्सिलिङ गर्न लगाउनुहुन्थ्यो । दिदीसमेत सरकारी जागिरको अवैधानिक प्रवक्ता नै भइसकेकी थिई । अति भएपछि एक दिन बेलुका खाना खाने बेलामा मैले कठोर निर्णय सुनाइदिए, ‘मलाई पढ्न नदिने हो भने म यो घरमा बस्दिनँ । अर्थात् मलाई लोकसेवामा फाराम भर भनेर किचकिच गरेको मलाई सह्य छैन ।’

बुबाको एक्लो छोरो भएकाले मैले जिते । अब म बल्ल फुक्काफाल भएँ । आकासमा उडेको चराजस्तै भएँ । तर, घरमा बुबाको अनुहारमा मप्रतिको झिनो भरोसा र खिन्नता प्रष्टै पढ्न सक्थें । बाल भएन । बिबिएसको तेस्रो वर्ष लागेपछि अस्ट्रेलिया गएर एमबिएस गर्ने भूत सवार भयो । संगत पनि त्यस्तैै । मजस्तै चार जना ‘विद्रोही’को मिसन थियो– जसरी पनि अस्टे«लियामा एमबिएस गरेर सके उतै स्ट्रगल गरेर सेटल हुने नत्र फर्केर कुनै वाणिज्य बैंकको करियर सुरु गरेर सिइयोसम्म पुग्ने ।

एक जना साथीको भिनाजुको एजुकेशन कन्सल्टेन्सी रहेछ, बानेश्वरमा, अनि सुरु भयो अंग्रेजी अभ्यासको । बुबासँग त खास बोलचाल हुन छाडेको थियो । आमाको मध्यस्तामा खर्च व्यवस्थापन हुन्थ्यो । अहिले विदेशभन्दा यहि राम्रो छ सबैतिर ।

‘त्यत्रो पैसा कहाँबाट ल्याउने ? उता पनि दुःखै हुन्छ,’ बुबा बेलाबेला यस्तै फतफताउनुहुन्थ्यो । सुगर र प्रेसरको चपेटामा परिसक्नुभएकी आमा पनि बुढेशकाल लागेकाले कतै नगइदिएहुन्थ्यो भनेजस्तो गर्नुहुन्थ्यो ।

हरेक छाक खाना खान बस्नु भनेको देश छोड्न नहुने आमाको अर्ति पनि खान बस्नु हो भन्ने कुरामा बानी परिसकेको थियो । तर, म अगाडि बढिसकेको थिएँ । कसैको कुनै धम्की, घुर्की वा अनुनय र आँसुले पनि केहि गर्न नसक्ने अवस्था थियो । हाम्रो शरीर यहाँ तर आत्मा अस्ट्रेलिया पुगिसेकको थियो । साथीको भिनाजुले उतै पिआर लिने गरी प्रोसेस अगाडि बढिसकेको भनेकोले केवल रकमको जोहो गर्नेबारे मात्र हाम्रो ध्यान जान्थ्यो । अंगेजी भाषाको परीक्षामा पनि राम्रै स्कोर आएको थियो । तेस्रो वर्षको रिजल्ट आएसँगै जाने लगभग कन्फर्म भएको थियो । यस्तैमा ग्यालेक्सी क्याफेमा कालीसँग भेट भएको थियो । हामी साथीहरू एउटा टेबुलमा सपनाका महलहरू सजाइरहेका थियौं । अर्को टेबुलमा साथीलाई पर्खिरहेको जस्तो गरेर बसेकी एउटी सुकुमारीको छटपटी गजबको थियो ।

पछि थाहा भो, उसको मोबाइल अफिसमै छुटेछ चार्ज गर्दा । अनि एक्सक्युज मी भनेर मतिर फर्केर केही याचना गरेजस्तो गरी । मैले यास प्लिज भने । उसले मेरो मोबाइल मागेर आफ्नो मोबाइलमा फोन लगाई । त्यो मोबाइल सुरक्षित राख्न भनी । उसले मोबाइल फिर्ता दिएपछि मैले पहिला मोबाइल, अनि ति सुकुमारी र मेरा ट्वां परेका साथीहरूलाई पालैपालो गरी हेरे । र आफैभित्र दंग परेर खुसुक्क जिन्सको खल्तिमा राखे । एकछिनपछि उसको साथी पनि आइन र दुवै जना कफीसँग रमाउन थाले । हाम्रो सपना जारी थियो । क्याफेबाट निस्क्यौ ।

भोलिपल्ट ठिक ९ः४५ मा सिंहदरवारको दक्षिण गेट पुगें । भित्र छिर्ने कुनै उपाय थिएन । मेरो अलमल देखेर होला, गेट सुरक्षाका लागि खटिएका प्रहरीले मेरो नाम र काम सोधे । अचम्मै लाग्यो, गेटको डिजिटल डिस्प्लेमा हिजो लोकसेवा परीक्षा पास भएका सबैको नाममा नेपाल सरकार स्वागत गर्छ भन्ने शीर्षकमा त्यही स्क्रल भइरहेको रहेछ । अत्यन्त आदरका साथ ती सुरक्षाकर्मीले भित्रपट्टि लगे । त्यहाँ मन्त्रालयबाट आएका सहयोगीले हाम्रो परिचय लिएपछि सबैलाई गाइड गर्दै मन्त्रालय पुर्याए । मन्त्रालयको मुख्य सभाहलमा रहेछ नियुक्तिको कार्यक्रम । ठिक १० बजे मन्त्रालयका सचिवज्यू आउनुभयो र हामीलाई स्वागत गरेर १० मिनेटमा आफ्नो कार्यकक्षमा लाग्नुभयो । मन्त्रालयका सहसचिवज्यूबाट थप १० मिनेट मोटिभेसन मन्तव्य दिएपछि हामीलाई मन्त्रालयका सबै ठाउँहरू घुमाएर त्यहाँको भौतिक अवस्थितिसँग परिचय गराइयो । ११ः३० मा सभाहलमा फर्केपछि सचिवज्यू पुन ः त्यहि आउनुभयो र हामीले नेपाल सरकारको नाममा उहाँसमक्ष सपथ गर्यौ, अनि सचिवज्यूबाट नियुक्तिपत्र प्राप्त गरियो । वास्तवमा यो अस्थायी नियुक्तिपत्र जस्तै रहेछ । स्थायी नियुक्तिपत्र त अबका तालिम, अभ्यास र विभिन्न चरणका परीक्षाहरू उतिर्ण गरिसकेपछि एक वर्षपछि पाइने रहेछ ।

एक वर्षपछि

साच्चिकै फलामको च्यूरा रहेछ लोकसेवाको परीक्षा, पास भएपछिको तीन महिने इन्टर्न सहितको सेवाकालिन तालिम र परीक्षाको अवधि । पुराना दिनहरूमा लोकसेवाको परीक्षा पास गर्न साह्रै गाह्रो थियो रे । तर, लोकसेवा परीक्षा पास गरेर सिफारिस भएपछि आनन्द थियो रे । आजकल उल्टो छ । सेना, प्रहरीमा भर्ना भएजस्तो भएर आयो निजामतीमा भर्ना हुनु पनि । जे होस, यि सारा चरणहरू पार गरेर अन्तिम परीक्षामा सामेल भएर उत्तीर्ण गरेपछि एक वर्ष पहिला प्राप्त गरेको नियुक्तिले आज स्वतः स्थायी हैसियत प्राप्त गर्यो । एकै पटक लोकसेवा परीक्षा पास गरेका हामी ७३ जनामध्ये एकजना मात्र अभागी ठहरियो । सामान्य विषयहरूमा समेत हेलचेक्रयाई गरेको हुँदा उसको नियुक्तिले स्थायी स्वरूप हासिल गर्न सकेन । र, एक वर्षको सेवासुविधा सहित बिदा भएर गयो । अर्को वर्ष एक पटकको लागि उसले सिधै लोकसेवाको तेस्रो र चौथो चरणको परीक्षामा सामेल हुने सुविधा भने प्राप्त गर्छ । जति गाह्रो भए पनि यो सेवा प्रवेश तालिमबाट मैले नेपालको इतिहास, भूगोल, समाज, बहुसंस्कृति, राजनीति, प्राकृतिक स्रोतसाधन, पूर्वाधार विकास, आर्थिक अवस्था, कानुनी व्यवस्था, नैतिक शिक्षा तथा सार्वजनिक उत्तरदायित्वका धेरै आयामबारे छर्लंग भयो ।

विश्व परिवेशसँगको तुलनात्मक अध्ययनबाट नेपालको सम्पूण्र्ण अवस्थाबारे राम्रो ज्ञान भयो । यसले मलाई अव सार्वजनिक सेवामा कसरी प्रस्तुत हुने र आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेबारे आत्मविश्वास प्राप्त भयो । यो तालिम उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसका एक जना प्राध्यापकको मातहतमा एक वर्षे अनुसन्धान गरी सोधपत्र पास गराएपछि जनप्रशासनमा स्नातकोत्तर तहको प्रमाणपत्र प्राप्त गर्ने गरी त्रिभुवन विश्वविद्यालय र स्टाफ कलेजबीच सम्झौता भएको रहेछ । यसको लागि हरेक वर्ष ५० कर्मचारी नेपाल सरकारवाट मनोनयन हुने प्रावधान रहेछ ।

कालीले मलाई ल एमपिए रिसर्च सँगै गर्नुपर्छ है भनेर जोश भर्थी, उसले अर्थशास्त्रमा पहिलो श्रेणीसहित स्नातकोत्तर गरिसकेकी थिई । आज मलाई महसुस भयो कि यो तालिम प्राप्त गर्ने अवसर नपाएको भए म नेपाली नागरिकताधारी मात्र हुने रहेछु, नेपाल बुझ्न र आत्मसात गर्न नसकेको हुने रहेछु । सार्वजनिक प्रशासन तथा सरकारी सेवाप्रतिको मेरो पहिलाको धारणा गलत रहेछ, दशकअघिको विकराल चित्रणबाट मैले धारणा बनाएको रहेछु । वास्तवमा राज्यले चाहे असम्भव केही रहेनछ, एक जना असल विचार र प्रतिवद्धता भएको जिम्मेवार व्यक्तिले साच्चिकै मुलुक बदल्न योगदान दिन सक्ने रहेछ । म आज त्यहि राज्यको एक जिम्मेवार व्यक्ति हुन पाएकोमा गर्व महसुस भएको छ । पछिल्लो एक दशकमा नेपालको सार्वजनिक प्रशासनले कायापलट नै गरेको अनुभव स्वयं गरेको छु ।

६ महिनाको सेवाकालिन तालिमको क्रममा मैले पढाइ, लेखाइ र सिकाइ के रहेछ भन्ने कुरो बल्ल बुझें । मैले स्कुल र विश्वविद्यालयमा पढेका कुराभन्दा धेरै व्यावहारिक र उपयोगी विषयहरू यो तालिमको क्रममा प्राप्त गरे । तालिमले साच्चिकै ज्ञान र सीप मात्र होइन, मेरो मनोबल पनि बढाएको छ । तालिमको क्रममा केवल प्राज्ञिक पण्डितहरूको एकोहोरो र सैद्धान्तिक प्रवचनको बदलामा मुलुकका हरेक तह र तप्काका अनुभवी, विज्ञ तथा धुरन्धरहरूको प्रशिक्षण र व्यावहारिक अभ्यासले मलाई निजामती सेवाको सिपाही हुनुमा गर्वको अनुभव गरायो । बहालवाला तथा पूर्वविभागीय मन्त्रीहरूले दिएको प्रशिक्षणले त झन् सवैको मन जित्यो । वास्तवमा नेता हुनु, राजनीति गर्नु र मन्त्री हुनु भनेको साच्चिकै अद्भुत रहेछ । उनीहरूको बुझाइ, ज्ञान, भिजन र क्षमता अलौकिक नै अनुभव भयो । मुलुक हाक्ने यस्ता महान योद्धाहरू इतिहासमा त्यसै पूजनीय हुने रहेनछन् ।

प्रशिक्षणको क्रममा थाहा भयो कि अहिलेका यि जलस्रोतमन्त्री, उद्योगमन्त्री, भौतिक पूर्वाधारमन्त्री तथा पूर्वअर्थमन्त्री र पूर्वकृषिमन्त्री त ति विषयमा दक्षिण एसियाकै विज्ञ समूहकारूपमा विश्वव्यापी ख्याती पाएका व्यक्ति पो रहेछन् । विश्व वैंक, एसियाली विकास वैंक तथा संयुक्त राष्ट्रसंघीय विभिन्न अंगहरूको उच्च परामर्शदाताका रूपमा सूचीकृत समेत रहेछन् । १० वर्षदेखि नेपालका सबै स्टाफ कलेज तथा विश्वविद्यालयहरूले हरेक दलका यस्ता काविल राजनीतिक नेताहरूलाई आफ्नो अल्पकालीन फ्याकल्टीका रूपमा राख्न हानथाप गर्न थालेका छन् । अझ रोचक त यो रहेछ कि राजनीतिक नेताहरूले राजनीतिक पदमा रहँदाको सेवा सुविधाबाहेक यस्ता कार्यहरूमा सहभागी हुँदा थप कुनै पनि सुविधा र बेतन स्विकार्दैन । यसलाई आफ्नो कर्तव्य र राजनीतिक प्रशिक्षणको रूपमा लिन्छन् । तर, त्यहाँ कुनै दलगत राजनीतिक विषय र सिद्धान्तभन्दा पनि विशुद्ध रूपमा तोकिएको विषय र परिधिमा प्रशिक्षण दिएर जाँदा रहेछन् । उनीहरू कुन दलसँग आवद्ध छन् भन्ने कुरा पनि उनीहरूको वैयक्तित विवरण हेरेर मात्र थाहा भयो । वास्तवमा आजको नेपाल र आजको नेपालको निजामती सेवा मैले परिकल्पना गरेकोभन्दा निकै फरक रहेछ ।

कालीले यहि कुरा मलाई बुझाउन ६ महिना मेहनत गरी, नत्र आज म केवल अस्ट्रेलिया वा क्यानडाको सपना देखिरहेको हुन्थे वा परिवारलाई ठुलो ऋणमा डुवाएको हुन्थे होला । तर, आज म गर्वका साथ मुलुकको सेवक भएको छु । मेरो जन्मभूमिको सेवा गर्ने कसम खाएको छु, अनि त्योभन्दा पनि बढी त मेरा बुबा आमाको काखमा बसेर उहाँहरूको सपना पूरा गर्न लागेको छु, आफ्नो हुने वाला सन्ततिको लागि अझ समृद्ध मुलुक बनाउने अभियानमा सामेल हुन पाएकोमा गर्वको महसुस भएको छ ।

परीक्षा पास गरेसँगै आज हामीलाई मन्त्रालयले एउटा स्मार्ट फोन, स्मार्ट परिचयपत्र र निजामती अधिकृत लेखिएको एउटा डायरी वितरण गर्यो । यसका साथै आजै मेरो नाममा एउटा इमेल आइडी, निजामती ऐना (पहिलाको फेसबुक जस्तै निजामती कर्मचारीको सामाजिक सञ्जाल) आइडि, बैंक खाता खोलेर तिनीहरूको पासवर्ड समेत प्राप्त भयो । अब आफ्ना हरेक गतिविधिहरू यो स्मार्टफोनमा स्वतः कैद हुनेछन् । आफूलाई चाहिने नियम, कानुन, कार्यविधि, निर्देशिका, परिपत्र, जानकारी फर्मेट सबै यहि स्मार्टफोनमा डाउनलोड भएको एप्समा उपलव्ध रहेछन् । यसका अलावा पत्रपत्रिका तथा सार्वजनिक निकायका सबै संगठन, पदाधिकारी, तिनको ठेगाना तथा सम्पर्क सबै नै चाहेको बेलामा यहिबाट उपलव्ध हुन सक्ने रहेछ । म कहाँकहाँ गए भन्ने सूचना समेत यसैमा स्वतः अपडेट हुने मात्र होइन, कहिल्यै पनि डिलेट वा इडिट हुन नसक्ने गरी अभिलेखित भएर रहने रहेछ । अब सबै कारोवारहरू यहि बैंक खाताबाट मात्र गर्नुपर्ने रहेछ । कुनै आम्दानी वा खर्चको सबै अभिलेख यसैमा रहने व्यवस्था गरिएको रहेछ । आफ्नो सम्पत्ति विवरण यसैमार्फत् अद्यावधिक गरिने रहेछ । कुनै आधिकारिक निकायले चाहेमा यसैमा रहेको सूचनाबाट सिधै अनुगमन गर्न सक्ने व्यवस्था गरिएको थाहा भयो ।

स्मार्ट परिचयपत्रमा सबै व्यक्तिगत विवरणहरू स्टोर गरिएको र चाहेको बखत अख्तियारवालाले हेर्न र अद्यावधिक गर्न सक्ने रहेछ । सेवामा रहुञ्जेल जहाँ सरुवा वा पदस्थापन गरिए पनि यहि एउटै परिचयपत्रले काम गर्ने रहेछ । अर्थात् पहिलाको व्यक्तिगत फाइल भने जस्तै रहेछ अहिलेको स्मार्ट आइडी कार्ड । सेवा प्रवेश पश्चातका हाम्रा हरेक गतिविधिहरू यही कार्डमा अभिलेखित हुने भएकाले राज्यबाट कुन–कुन सेवा र सुविधा प्राप्त भयो अनि कसकसले के–के लजिस्टिकहरू कति परिमाणमा खपत गर्यो र खासमा कुन–कुन जिम्मेवारी पूरा गर्यो वा कुन–कुन स्थान र मुलुक भ्रमण गरेर के–के उपलब्धि हासिल गर्यो भन्ने सबै विवरण स्पष्ट हुने भएकोले कार्यरत निकायलाई धेरै नै सजिलो हुने रहेछ । पहिला सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन, अभिलेखन र व्यवस्थापन गर्न मात्र निजामती कितावखाना र राष्ट्रिय सतर्कता केन्द्रको ठूलो स्रोत, साधन र समय लाग्ने गरेको रहेछ । यसरी संकलित सम्पत्ति विवरणको ठूलो परिमाण २०७२ सालको विनाशकारी भूकम्पले नोक्सान गरेपछि सम्पत्ति विवरण संकलन र अभिलेखीकरणबारे यस प्रकारको नयाँ प्रयत्न सुुरु भएको रहेछ । कार्य सम्पादनका क्रममा एक ठाउँमा प्राप्त गरेका सुविधा तथा सामग्रीहरू त्यहाँबाट अन्यत्र सरुवा भई जाँदा फिर्ता गरेर जानुपर्ने झण्झटिलो प्रणालीको अन्त्य भइसकेको रहेछ ।

मानौ, कुनै कर्मचारीले सेवा प्रवेश गर्दा कुनै निकायबाट एउटा ल्यापटप प्राप्त गरेको रहेछ भने यो ल्यापटप उसको व्यक्तिगत अभिलेखमा स्थायी रूपमा जनाइसकिएको हुन्छ र जहाँ सरुवा भई जाँदा पनि सँगै लिएर नै जान्छ । नयाँ निकायमा जाँदा परिचय–पत्र रिड गरेपछि यो सबै स्पष्ट हुन्छ । यस्ता खालका लजिस्टिकहरू अन्तिम समयसम्म एकै जनाले प्रयोग गर्ने र मर्मतको लागि सरकारले व्यवस्था गरेका मर्मत केन्द्रहरूबाट गराउन सकिने रहेछ । मर्मतको विवरण परिचय–पत्रमा नै अभिलेखित हुने रहेछ । कामै नलाग्ने भएपछि वा यसको पूर्वनिर्धारित अवधि पूरा भएपश्चात सरकारले व्यवस्था गरेको बन्दोबस्ती विभागलाई जानकारी गराएपछि दुई दिनभित्रै यो विभागले परिचयपत्रमा अभिलेखित गरी मागकर्तालाई सहजै उपलब्ध गराउने रहेछ । यो व्यवस्थाले सरकारको स्रोत साधनको अधिकतम सदुपयोग भएको मात्र होइन, कर्मचारीलाई सहज र जिम्मेवार बनाउन पनि सहयोग पुर्याएको रहेछ । अब अन्य मोबाइल नम्बर, अर्को कुनै इमेल आइडी, बैंक खाता वा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने रहेछ । पहिला प्रयोगमा रहेकाहरू अहिले उपलब्ध गराइएको आइडीहरूमा स्वतः आवद्ध गर्न सकिने रहेछ । परिवारका सदस्यहरूको पढाइ, उपचार खर्चलगायत सबै विवरणहरू अभिलेखित गरेको र सम्बन्धित सेवाप्रदायकबाट प्रमाणित भएको आधारमा सरकारले नै बेहोर्ने गरी निजामती कर्मचारीको सामाजिक सुरक्षा प्रत्याभूति गरिएको रहेछ । सेवा प्रवेशपश्चात एक दिन पनि ढिला नगरी पूर्वनिर्धारित जिम्मेवारी प्रदान गरिने रहेछ । यो पनि योग्यता क्रममो आधारमा रोजाएर । कुन कर्मचारी कुन कार्यालयको कति नम्बर कोठाको कुन कुर्चीमा बस्ने र के–के सुविधा पाउने सहित स्मार्ट टेबुल पहिले नै व्यवस्था भइसक्ने रहेछ । स्मार्ट टेबुलको बहुउपयोग गर्न मिल्ने गरी डिजाइन गरिएको हुने पनि थाहा भयो । साच्चिकै लोभलाग्दो, आकर्षक, जिम्मेवार, पारदर्शी, प्रतिस्पर्धी र प्रतिफलमुखी भएको रहेछ नेपालको सार्वजनिक प्रशासन ।

आजै साँझ फेरि उहि क्याफेमा भेट्ने पूर्वयोजना थियो । अफिसबाट सिधै यतै आएकी रहिछे, कानबाट एअरफोनको ठोसा झिकेर सधैझँै आज पनि आँखा तरेर हेरी । तर, मायालु पाराले । म नै ढिला भएँ, एक घन्टा पर्खिछे मलाई । थाकेको थिएँ साह्रै, कडा कालो कफी पिउने मुड थियो । लाचारजस्तै म ङिच्च हाँसे ।

भने, ‘कफी पिऊँ है ।’ उसले मलाई एकोहोरो हेरिरहेकी थिई, मानौ कि उसले मलाई पहिलो पटक देखेकी हो । भेटेको यत्तिका दिनसम्म पनि यसले कहिल्यै यसरी घुरेर हेरेकी थिइन् । मेरो पनि मुड आज सिरियस नै थियो । ऊ चुप लागेको देखेर मैले दुई कप कफी अर्डर गरेँ । अनि बल्ल खुल्यो उसको वाक्य ।

भनी, ‘तिमीसँग जरुरी काम छ ।’

उसको आदेशात्मक भावको कुराले म अलि असामान्य भएँ । अनि जिस्कने मुडले भने, ‘जे काम छ, ९ बजे पहिला र ६ बजेपछि मात्र है । मसँग धेरै फर्मल र कुटनीतिक हुने हैन है, भन्द्याछुु ।’
म सोच्दैथिए, ‘आज यो केटी अलि फरकरूपमा प्रस्तुत हुँदैछे ।’ कफी आइपुग्यो । मलाई अलि असजिलो अनुभव भइरहेको थियो । आजको दिनमा अलि रोमान्टिक हुने मुड थियो मेरो । तर, वातावरण अर्कै थियो । म शान्त थिएँ, ऊचाहिँ सिंहिनीझैँ घुरेर बसेकी थिई ।

‘कफी लिन्नौं ?’ मेरो मौनतालाई तोड्ने हिसावले उसले भनी । मलाई अलि सहज भयो । सुरुप्प कफीको एक चुस्की लिइसकेपछि उसको अनुहारतिर हेरेँ ।

उसले भनी, ‘अब केटाकेटीजस्तो व्यवहार गर्ने हैन । यु आर म्याचुअर र रिस्पोन्सिवल इनफ ।’

‘मैले अब के गर्नुपर्यो त म्याम, मर्जी होस् न त ?’

ऊ जुरुक्क उठी । र, चस्मा झिकेर फेरि लगाई । अनि मेरो आँखामा हेरेर भनी, ‘हामी बिहे कहिले गर्ने ?’

नसोचेको प्रसंग आउँदा म किंकर्तव्यमुड भएँ । मलाई साह्रै असजिलो महसुस भयो । मैले केही सोच्नै सकिनँ । यसअघि कहिल्यै हामीबीच यस्तो कुनै प्रसंग नै आएको थिएन ।

‘ल मलाई यो विकइन्डसम्म जवाफ देऊ, नेगटिभ वा पोजेटिभ जे भए पनि,’ यति भन्दै ऊ फटाफट हिँडी । मेरो हातखुट्टा गलेझैँ भयो । उठेको मान्छे, थुचुक्क बसेर हेरिरहेँ, ऊ परसम्म गएको । फर्केर पनि हेरिनँ । सोचे– कस्तो लहडी केटी छ ।

रातको १ बजिसक्यो । पानी पिउँदा पनि पसिना आउन छाडेको छैन । ओछ्यानमा पल्टेको तीन घन्टा भयो निद्रा लागेन । निकट विगतको स्मृति सिनेमाझँै खप्पर भित्र मडारिरह्यो । आजको खुसीको दिनमा पनि कालीको कुराले मलाई निदहराम गराइदियो । कसरी घर आए, कति बेला बैठकमा सुस्ताएछु, थाहै पाइनँ । धेरै वर्षपछि बुबा नजिकै आउनुभो र गजक्क मसँगै बस्नुभयो । बुबाको सानिध्यले मलाई खै किन हो आज अर्कै महसुस गरायो । अनि बुबाको अनुहारमा आज मैले अर्कै चमक देखेको थिएँ । उहाँको भावले मप्रतिको खुसी र सन्तुष्टि सहजै देखिन्थ्यो । आजकल आमाको प्रेसर र सुगर पनि नर्मल हुँदै गएको छ । म पनि भित्रभित्रै दंग छु, उहाँहरूलाई खुसी देख्न पाएकोमा । एउटा सन्तालने आफ्ना जन्मदातालाई खुसी राख्न पाउनु साह्रै ठूलो सन्तुष्टि हुने रहेछ । सायद, सन्तानले आफ्नो सोचअनुरूप बाटो समाएको देख्दा बुबाआमाको सामाजिक प्रतिष्ठा स्वतः माथि हुने रहेछ । यो उमेरमा आएर उहाँहरूले कमाउने भनेकै यहि रहेछ । मेरो यो खुसीको आधार र कारण केवल त्यो काली नै हो । ममा आएको एक सय ८० डिग्रीको यो परिवर्तनको कारक के हो भन्ने कुरामा बुबाआमाबीच धेरै पटक बहस भएको सुनेको छु । तर, यो कारण त्यही हो भन्नेमा उहाँहरूलाई छनक छैन होला । त्यो बेला रमाइलोको लागि जिस्काउने नियतले उसको मोबाइलमा मिसकल दिइरहेको मेरो उटपट्याङ कामको प्रतिफल यो तह र म्याग्निच्युडमा आउला भनेर मैले कल्पना गर्ने कुरा पनि थिएन ।

विदेशको सपनामा डुबेर रुमल्लिएको अनि अपरिचित मलाई ललाइफकाई, सम्झाई, हप्काई, घुर्काई मेरो सोच र जीवन नै बदलिदिने त्यो काली खासमा को हो, उसको सबै कुरा अझै मलाई थाहा छैन । मलाई सम्झाउँदा, फकाउँदा, हप्काउँदा, पढाउँदा, घुर्काउँदा नै सबै समय गयो, मैले उसको बारेमा केही सोध्नै पाइनँ । २० औँ वर्षसम्म बाबुआमाले तह लगाउन नसकेको मलाई उसले केही महिनामै पूरै बदलिदिई । वास्तवमा नारी भनेको देवी, दुर्गा, महाकाली…भन्थे, मैले पनि सुन्थे, आफैले अनुभव गरे मेरो जीवनमा ।

कहिलेकाही मलाई लाग्थ्यो– ऊ गरुड हो म सर्प हुँ । उसको संगत गरेपछि मैले साथीहरूको साथ गुमाएँ, अर्थात् उनीहरू नै टाढा हुँदै गए । किनकि मेरो दैनिकी, गतिविधि र मञ्जिल नै फरक हुँदै गइरहेको थियो, कालीको संगतले । सुरुमै एक पटक फोनमा नाम सोधेको थिएँ । अनुहार हेरेर पत्ता लगा न भनेर पो भनी । मैले पनि प्वाक्क काली भनिदिए । ए हो डल्ले भनी भनेर बादल फाट्ने गरी फोनमै हासेर कुरो टुंगाइदिई अनि त्यहि न्वरानको नामवाट हाम्रो परिचय आजपर्यन्त कायम छ । आज सम्झँदै छु मैले कि उसको कारणवाट मैले सानै देखिका अनि कलेजका साथीहरु गुमाए तर ती धेरै साथीहरुको तुलनामा ऊ एक्लै पनि कम सावित गरिन कहिल्यै । केटीहरूको संगतले केटाहरू बिग्रन्छन् भन्ने सुनेको पनि थिएँ । तर, मेरो अनुभवमा उल्टो पो भयो त । उसले कहिल्यै नगरकोट, धुलीखेल घुम्न जाऔं वा मस्ती गरांै भनिन । न चुरोट, गाँजा वा भाङ खाऔ भनेर कहिल्यै कर गरी । डिस्को, दोहोरी, क्यासिनो वा सिनेमा जाऔं पनि भनिन । बरु, ऊ मेरो अभिभावकभन्दा पनि अब्बल र जिम्मेवार भएर पो निस्की । फजुल खर्च गर्नुहुन्न, कितावमा खर्च गर्नुपर्छ भनेर सम्झाउने त्यो केटी आफै पनि खुब पढन्ते हो भन्ने कुरामा म विश्वस्त छु । लोकसेवाको परीक्षाको लागि कोचिङ भर्ना हुन पनि दिइन, आफैले पढाई । वास्तवमा प्राज्ञिक क्षेत्रमा पनि अब्बल रहिछे, गज्जबले पढाई र सिकाई मलाई । उसको संगतले म गल्दै गइरहेको थिए । ऊसँग पहिलो पटक भेट्ने बेला म आफूलाई सिंहजस्तो अनुभव गर्थे भने उसलाई मृगिणीजस्तो । तर, आज उसलाई सिंहजस्तो देख्छु भने आफूलाई मृगजस्तो मात्र । पहिलो पटक देख्दा साच्चिकै उसलाई एउटा सुन्दरीको रूपमा देखेको थिएँ । खुलेर हास्ने प्रियंका कार्कीजस्तै, बिरालोको चाल, पुक्क परेका गुलाबी गाला, लिपिस्टिकविना पनि चम्किएका अधर, अनि कालो मोटो फ्रेमभित्र चल्मालाएका साच्चिकै मृगिणीका जस्ता आँखाहरू । कम्मरसम्मै झरेको कपाल…।

उसको भाव मात्रै होइन, हेराई अनि बोलाई पनि आकर्षक लागेको थियो । उमेरगत स्वभाविक प्रतिक्रियास्वरूप नै उसले आकर्षण गरेकै भएर हुनुपर्छ । मैले मिसकल गरिरहेको पनि उतिवेला । तर, आज मेरो नजरले उसको त्यो रूप र भाव देख्दैन । उसलाई सुन्दरी होइन कि सार्वजनिक प्रशासनको एक रोलमोडेल परिपक्व महिलाको रूपमा मैले देख्न थालेको छु । ऊसँग जिस्किने हैसियत मैले गुमाइसकेको छु, भन्दै आएको भएर मुखले काली भनेर बोलाए पनि ऊप्रति मेरो सम्मानको भावना विकसित भएको छ । उसको अगाडि आज म डल्ले नै अनुभव गर्छु । आज म यस्तो मोडमा आएर उभिएको छु कि उसको सहयोग र सद्भावविना मेरो उभिएको धरातल नै कमजोर महसुस हुन्छ अनि भविष्यमा पनि उसको साथ र सहयोग मेरो लागि अपरिहार्य छ । यसबीचमा उसले कहिल्यै केही गुनासो गरिन मसँग, केही मागिन । अनि आफ्नोबारे पनि खास बताइन धेरै । उसलाई एकपटक मेरो बुबाआमासँग भेटाएर उहाँहरूबीचको बहसलाई निष्कर्षमा पुर्याइदिने रहरले मलाई बेलाबेला काउकुती लगाइरहन्छ । एउटा अपरिचित मान्छेले अर्को मान्छे, त्यो पनि अपरिचित विपरित लिंगीलाई कसरी परिवर्तन गर्न सक्दो रहेछ भनेर म आफै दंग परेको छु । हाम्रो संगतको बेलामा कहिल्यै पनि विवाह, रोमान्स, प्रेमजस्ता नितान्त व्यक्तिगत विषयमा कुनै बहस नै भएन, प्रसंग नै आएन । एउटा प्रसंगमा मेरो हेलचेक्रयाई पारा देखेर उसले भनेकी थिई– ‘तिमीजस्तो मूर्ख मान्छेसँग बिहे गर्ने केटी त महामूर्ख नै हुनेछु ।’ योबाहेक अरु कुनै याद छैन । आज अचानक उसको यो कुरा सुन्दा मलाई हाम्रो विगतको पूरै सहयात्रा स्मरण गर्दा पनि कुनै छनक पाइनँ, हामीबीचको सम्बन्ध यो दिशामा जाने गरी अगाडि बढेको । मेरो एउटा मनले भन्छ कि अबका दिनहरू उसको साथविना कठिन छ । जसरी विगतमा पनि मेरा पाईलाहरू उताबाट रोकेर यता ल्याउन उसैले सम्पूर्ण रूपमा योगदान दिएकी छ । मलाई परिवार, समाज र मुलुकमा स्थापित गराउन, अस्तित्ववोध गराउने उसको योगदान अतुलनीय नै छ । म पनि अविवाहित छु, कसैको चक्करमा छैन, अर्थात् चक्करमा पर्ने फुर्सदै दिएन, पछिल्ला दुई वर्षका परिस्थितिले । कसैलाई मन पराउनु, माया गर्नु, मायामा अल्झिने मौकै कहाँ पाइयो र ।

आजसम्म मैले सोच्ने फुर्सद नै पाइनँ– किन उसले मलाई यति धेरै केयर गरी ? आफ्नै परिवारको सदस्यझँै माया गरी अनि पूरै शक्ति लगाएर मलाई सहयोग गरी ? सायद यो प्रश्नमा अल्झने आवश्यकता र औचित्य पनि थिएन त्यतिबेला । के म सधैभरि यसरी नै उसलाई ‘काली’ भनेर बोलाइरहन, संगत गरिरहन सक्छु ? यो सम्बन्धको अरु कुनै अर्थ र फरक गन्तव्य छ कि भनेर मैले यो हप्ताभरि सोच्नै पर्छ । विश्वास गर्छु, माया गर्छु, उच्च सम्मान गर्छु । उसले मलाई धेरै दिएकी छ, मैले उसलाई केही दिएको छैन, उसले मागेकी पनि छैन । मैले केबल उसलाई दिएको भनेको मेरो समय मात्र हो । अरु सायद उसलाई आवश्यक पनि थिएन होला, अनि ममा स्वयं अनेक अभावदेखि होली, यस्तो पनि लाग्थ्यो । तर, आज एक थोक मागी पहिलो पटक । म आफैलाई थाहा छैन कि दिन सक्छु कि सक्दिनँ भनेर ।

विक इन्डमा फेरि भेट भयो उही क्याफेमा, सल्लाह नै गरेझैँ भयो । दुवैले एक अर्कालाई पर्खिनुपरेन आज । हाम्रो औसत भेट हुने समय नै यहि हुन्थ्यो साँझको ६ बजे । विगतका दिनभन्दा आज दुबै जना अलि फरक र सिरियस मुडमा प्रस्तुत भयौ कुनाको टेबुलमा । कफी आइपुग्यो, टेबुलमा । दुवैको वाक्य फुट्न सकेन । उसले पहिला कफी हेरी, अनि मलाई । ऊसँग आँखा जुधाउन सकिनँ, अनि मैले कफीतिर आँखा डुलाए । मौनताबीच दुवैले कफी सुरुप्प पार्यौसँगै, मनमनै चियर्सको भावमा ।

उसैले मुख खोली, ‘भन ?’

मैले बुझेजस्तै गरी भने, ‘हुँदैन, भो ।’

‘किन ?’ उसले स्पष्टीकरण मागी ।

रेडियो नै बोलेझैँ मैले भने, ‘के केटा र केटी असल मित्र मात्र बन्न सक्दैनन र ?’

एकछिन सन्नाटा छायो ।

दुवैका आँखाबाट वर्रर आँसु झरे । वरिपरि अरु कसैले देखे कि भनेर यताउता आँखा डुलाए पनि । सबै आ–आफ्नै धुनमा मस्त थिए ।

उसले भनी, ‘अँ, असम्भव केही छैन ।’

भूइँतिर हेरेर मैले भने, ‘हो ।’

‘त्यहि, हामी सधैका साथी, सबैभन्दा माथि ।’

‘उम् त्यहि साथी…।’

‘साथी मात्रै ?’ अलि नजिकै टाउको ल्याएर ऊ अझै स्पष्ट हुन खोजी ।

मैले भने, ‘हो त ।’

मैले खल्तीबाट सेतो रुमाल झिकेरै उसका आँखाका कोश सफा गर्न खोजे । (आजकल चस्मा लगाउदिन उसले)

उसले मेरो हात समाई । र, मेरै आँखाको कोश पुछिदिई । भनी, ‘अरुले ख्याल गरिदिने मेरो भाग्य छैन । यसमा मलाई चिन्ता पनि छैन, आफै ख्याल राख्ने बानी परेको छ । बरु तिमी पनि आफ्नो ख्याल राख्नु । सरकारले मनोनयन गरिसकेको छ, म अर्को हप्ता खप्तड युनिभर्सिटी जाँदैछु, उतै बस्ने गरी जोइन गरिसके, मेरो रुचिको टपिक्समा पिएचडी गर्न ।’

यति भनेर ऊ जुरुक्क उठी । अनि तल र माथि दुवै ओठ भित्रपट्टि लगेर आँखा तरेर भनी, ‘केयर गर्नु, काले ।’ अब चार वर्षपछि भेट होला । (यसो भन्दा उसका उसका दुुवै हात मेरा दुवै गालामा स्नेहपूर्वक स्पर्श गरिरहेका थिए, पहिलो पटक) । म मूर्तिझैँ केवल ठाडो भएर उभिएको थिएँ । ब्याग टिपेर ऊ फटाफट गई, फर्केर हेर्दा पनि हेरिन । रुमाल हातमै थियो । आँखाबाट उत्पन्न भएका रसायन चिउडोबाट तल झर्न रोक्न यो रुमाल काम लाग्यो फेरि । कसैले देख्यो कि भनेर यताउता पनि नहेरी ऊ क्षितिजमा नहराइञ्जेल एकोहोरो हेरिरहँे । ऊ जति पर पुगी उति नै अग्लो हुँदै गएको अनुभव गरे । मनमनै लाग्यो, उसको कदको अगाडि म सधै डल्ले नै रहे, हरेक आयामले । राष्ट्रसेवक निजामती कर्मचारी हिसाबले पनि मभन्दा ऊ दुई वर्ष ‘वरिष्ठ’ नै थिइँ । आखिर यहाँनेर पनि मलाई ‘डल्ले’ सावित गरेरै छाडी त्यो कालीले । जीवनमा पहिलो पटक आफ्नो केही कुरा आफूबाट पर जाँदै गरेको र आफु एक्लो भएको अनुभव गरे मैले, पहिलो पटक चिसो र खाली मन लिएर घर फर्के । बाटोभरि अपरिचित सम्बन्धले परिभाषा र गन्तव्य खोजिरह्यो मभित्रै । ऊ कतै टाढा गई । मलाई यो सिंहदरवारको घुम्तीमै अल्झाएर गई, कहिल्यै नबिर्सने स्मृति छोडेर । कता कता चसक्क दुख्ने घाउ छोडेर गई । तर, मेरो जीवनको नयाँ गोरेटो र फरक गन्तव्य कोरेर गई । (कतै म पो स्वार्थी भए कि ?) ।

र यो पनि,

सिंहदरबारमा एक रात

Tags :
प्रतिक्रिया दिनुहोस