‘एक घर, दुई बिरुवा’ अभियान शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘एक घर, दुई बिरुवा’ अभियान शुरु


१८ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । वन तथा वातावरण मन्त्रालयले विभिन्न प्रजातिका ७०० बिरुवा वितरण गरेर ‘एक घर, दुई बिरुवा’ अभियान सुरु गरेको छ ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत आज तेस्रो दिन वन विभागले निजी घरमा वृक्षरोपणका लागि काठमाडौंको बुद्धनगरका स्थानीयवासीलाई सो बिरुवा वितरण गरेको हो ।

विभागले बुद्धनगर टोलसुधार समितिमार्फत धुपी, तेजपात, अम्बा, काइयोलगायत प्रजातिका बिरुवा वितरण गरेको विभागले जनाएको छ ।

सो अवसरमा विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको भन्दै यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरे ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक यज्ञनाथ दाहालले यस अभियानले हरियाली प्रवद्र्धन भई स्वच्छ वातावरण कायम हुने भएकाले सक्रिय रुपमा लाग्न स्थानीयवासीलाई आग्रह गरे ।

टोल सुधार समितिका अध्यक्ष हेमलाल गौतमले वृक्षरोपणका लागि निरन्तर अनुगमन तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयले यसअघि सरकारले वातावरण दिवसको अवसरमा यही जेठ १६ गते काठमाडौँमा शंखपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम र जेठ १७ गते मन्त्रालयमा अन्तक्रिया कार्यक्रम गरिसकेको छ ।

यस वर्ष “प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, सके पुनः प्रयोग गरौँ, नसके बहिष्कार गरौँ” भन्ने नाराका साथ जेठ २२ गते विश्वभर वातावरण दिवस मनाइँदै छ ।

मन्त्रालयले सोही दिन ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ सार्वजनिक गर्दैछ । रासस

प्रतिक्रिया दिनुहोस