नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई


१७ जेष्ठ २०७५, बिहिबार


वीरगञ्ज । भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई ५० तथा ठेकेदारलाई २५ बुझाउने गर्छन् ।

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आएका छन् । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् ।

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका छन् ।

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस