आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा


१७ जेष्ठ २०७५, बिहिबार


बाँके । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहुँदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् ।

एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन् ।

अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ ।

आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढी क्षति पु¥याएको छ । आँधी हुरीले वडा नं ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करीब ७० जनाको घरको छाना उडाएको छ भने एक दर्जनभन्दा बढी रुख ढलेका छन् । हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले क्षतिबारेमा तथ्यांक संकलन भइरहेको भन्दै राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस