परीक्षण उडानका लागि तयार सुकिलुम्बा विमानस्थल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परीक्षण उडानका लागि तयार सुकिलुम्बा विमानस्थल


१६ जेष्ठ २०७५, बुधबार


इलाम । सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ ।

यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए ।

“धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ,” उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । मौसमले साथ दिएमा परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । तारा एयरका पाइलट विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।

“गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने योजना थियो, निर्माण नसकिएका कारण ढिला भएको हो,” उनले भने ।

निर्माण व्यवसायी मोहन गुरुङ विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताए । धावन मार्गका लागि करीब एक करोडमा काष्ठमाण्डप निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । विमानस्थलको धावन मार्ग ७०० मिटर लामो र ६० मिटर चौडा छ । नौ करोडमा ढल व्यवस्थापनको काम भइरहेको छ ।

सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका बासिन्दालाई सजह हुनेछ । हालसम्म धावन मार्ग निर्माण गर्न आठ करोड तथा ढल निकासका लागि रु नौ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए। निर्माण सम्पन्न गर्न करीब ३५ करोड आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस