गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैन : प्रधानमन्त्री ओली


१५ जेष्ठ २०७५, मंगलबार


संविधान दिवस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भएकाले सुशासन र विकास आजको प्राथमिकता रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरू परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिए ।

गणतन्त्रलाई संस्थागत, संविधानलाई कार्यान्वयन र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै उनले केन्द्रमा प्रगतिशिल, देशभक्त तथा जनपक्षीय सरकार र सातै प्रदेश तथा ७ सय ५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको बताए ।

‘सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीे ओलीले भने ।

प्रधानमन्त्रीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवनपद्धति भएको बताए । ‘गणतन्त्र पनि नेपाली सभ्यता तथा परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो । दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अंगिकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु,’ उनले भने ।

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको प्रधानमन्त्रीले बताए । ‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईंहरूको चाहना यस घोषणाबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानुनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो ।’

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको र आम नेपालीको दिवस भएको बताए । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो,’ उनले भने ।

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य मुख्य अभियान भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस