भेटेरिनरी एसोसियसनको ९ बुँदे घोषणापत्र जारी « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

भेटेरिनरी एसोसियसनको ९ बुँदे घोषणापत्र जारी


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपाल भेटेरिनरी एसोसियसनको राष्ट्रिय सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरिएको छ ।

स्वर्ण जयन्तीका अवसरमा काठमाडौंमा सम्पन्न सम्मेलनले पशुपन्छीको क्षेत्रका विद्यमान समस्याहरूको पहिचान तथा समाधानका सुझावहरूसहित घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको नाममा पशुपन्छी शब्द राख्नुपर्ने, स्थानीय तहका संरचनामा योग्यता पुगेको भेटेरिनरी डाक्टर थप्नुपर्ने, पशुपालकलाई गुणस्तरीय पशु चिकित्सा सेवाको सुनिश्चित गर्नुपर्ने, पशुपन्छी क्षेत्रको यथार्थ तथ्याङ्क संकलन गर्नुपर्ने, पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रिको गुणस्तर नियमन गरी गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चिता गर्नुपर्ने, मत्स्य सेवा सम्बन्धी संगठनात्मक संरचनालाई पशुसेवा विभाग अन्तर्गत राख्नुपर्ने माग गरिएको छ । यस्तै, पशु स्वास्थ्य नीति तर्जुमा गरी लागू गर्नुपर्ने, पशुपन्छी अनुसन्धान क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेलगायत माग गरिएको छ ।
पशुजन्य पदार्थहरुको उत्पादन तथा उपभोग प्रत्यक्ष मानव स्वास्थ्यसँग नै जोडिने भएकोले पशुपालन व्यवसायी, मासु व्यवसायी लगाएत उपभोक्ताहरु सबै सचेत हुनुपर्ने उपाध्यक्ष डा. श्रीराम अधिकारीले बताए ।
नयाँ कार्य समिति पशुपन्छीको क्षेत्रका विद्यमान समस्याहरूको पहिचान तथा समाधानका सुझावहरूको कार्यान्वयनका लागि सशक्त भएर अघि बढ्ने समेत डा. अधिकारीले बताए ।

यस्तो छ घोषण पत्र

नेपाल भेटेरिनरी एशोसिएसन
२०७५ जेठ ०९ देखि ११ बाट पारित

नेपाल भेटेरिनरी एशोसिएसन स्वर्ण जयन्ती घोषणा पत्र

१. संघीय संरचनामा भेटेरिनरी सेवा
क. नेपालमा नयाँ संविधान जारी भई संघीय शासन व्यवस्था अनुरूप मुलुकका निकाय तथा अंगहरू संघीय प्रणाली अनुरूप परिमार्जन तथा समायोजन भई रहेको सन्दर्भमा नेपाल सरकार कार्य-बिभाजन नियमावली, २०७४ ले साविकका पशुपन्छी विकास मन्त्रालय, कृषि विकास मन्त्रालय, भूमिसुधार तथा ब्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई गाभि कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयको स्थापना गरेको छ। छुट्टै मन्त्रालयको रूपमा अस्तित्वमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रित रूपमा पशु स्वास्थ्य, पशुपन्छी विकास लगायत समग्र पशुपन्छी ब्यवसायको प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाईरहेको अवस्थामा, यस एशोसिएसनले संघीय कार्यान्यवन सहज ढङ्गमा अघि बढाउन मन्त्रालयहरू गाभिँदा पशुपन्छी भन्‍ने शब्द मन्त्रालयको नाममा उल्लेख हुन बारम्बार माग गरेकोमा पशुपन्छी विकास मन्त्रालयको योगदान र अस्तित्वलाई सम्पुर्ण रूपमा बेवास्ता गरी पशुपन्छी भन्‍ने शब्द नै उल्लेख गरिएन। यस कार्यले मुलुकको अर्थतन्त्रको मेरूदण्डको रूपमा विकाश हुँदै गएको समग्र पशुपन्छी क्षेत्र र ब्यवसायमा संलग्न कृषक, उद्यमी, ब्यवसायी लगायत पेशाकर्मीहरूलाई निरूत्साहित पारेको छ। यस सन्दर्भमा एशोसिएसन नेपाल सरकारसँग यस क्षेत्रको योगदानलाई अन्य क्षेत्रको योगदान सरह मूल्याङ्‍कन गरी कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयको नाममा पशुपन्छी भन्‍ने शब्द समेत थप गर्न जोडदार माग गर्दछ।

ख. संघीयता कार्यान्वयनको शिलशिलामा नेपाल सरकारले निजामती सेवामा हाल गरिरहेको प्रशासनिक पूनर्संरचनामा मुलूकको अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पशुपन्छी क्षेत्रबाट भईरहेको योगदान र संभावनाको आधारमा केन्द्रीय शासन ब्यवस्थामा पुर्‍याईएको सेवा सुविधामा थप बृद्धि हुने गरी संघ, प्रदेश र स्थानिय तहमा संविधान, कार्यविष्तृतिकरण, अन्तराष्ट्रिय अभ्यास तथा औचित्यका अधारमा मुलूकको समृद्धिमा टेवा पुर्‍याउन उपर्युक्त संरचनाको निर्माण गर्न माग गर्दछ। हालको संरचनामा योग्यता पुगेका दक्ष भेटेरिनरी डाक्टरहरूको यथोचित ब्यवस्था नभएको अवस्था र देश भित्रै १५० जना भन्दा बढी दक्ष भेटेरिनरी डाक्टर बार्षिक रूपमा उत्पादन भईरहेको सन्दर्भमा योग्यता पुगेको जनशक्तिलाई रोजगारीको अवसर सृजना गरी दुरदराजका कृषकलाई दक्ष पशु चिकित्सा सेवा उपलब्ध गराउने तथा आम नागरिकलाई स्वस्छ, स्वस्थ तथा गुणस्तरीय पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादन, उपभोग सुनिश्चितताको लागि पुनर्संरचनामा संघ, प्रदेश र स्थानिय तहका संरचनामा योग्यता पुगेका भेटेरिनरी डाक्टरको थप दरबन्धी सृजना गर्न जोडदार माग गर्दछ।

ग. व्यवसायीकता तथा आधुनिकिकरण तर्फ अघी बढिरहेको पशुपन्छी पालन ब्यवसायमा देखा परेका समस्या, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखा परिरहेका Ebola, Nipah, Bird Flu, AMR, जस्ता चुनौतीहरूलाई सामना गर्न नेपालको संविधान २०७२ को मर्म तथा भावना तथा OIE PVS GAP Analysis Report र नेपालले अन्तराष्ट्रिय क्षेत्रमा गरेको सन्धी-सम्झौता र मापदण्ड अनुरूप (Harmonization) स्थानिय, प्रादेशिक र केन्द्रीय तह सम्म स्पष्ठ Chain of Command  सहितको संगठनात्मक संरचनाको निर्माण गरी विश्‍वसनिय र पारदर्शी राष्ट्रिय भेटेरिनरी सेवा सञ्चालन ल्याउन माग गर्दछौं। भेटेरिनरी सेवालाई बर्गिकरण गरी योग्यता अनुसार गुणस्तरीय सेवा प्रवाह गर्न र सेवाको गुणस्तर नियमन गर्ने ब्यवस्था सुनिश्चित गरि मुलूकको संवृद्धिमा टेवा पुर्‍याउन भेटेरिनरी सेवाको पहुँचलाई विस्तार गर्न प्रत्येक स्थानिय तहमा कम्तिमा एक जना भेटेरिनरी डाक्टरको ब्यवस्था गरी एक स्थानिय तह एक भेटेरिनरी डाक्टरको सुनिश्‍चितताको लागि जोडदार माग गर्दछौ। साथै सिङ्गो पशुपन्छी क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउन निजी क्षेत्रलाई समेत सँगै लानुपर्ने माग गर्दछौं।

घ. राष्ट्रिय कानुनहरू, अन्तरराष्ट्रिय अभ्यासहरू, तथा विश्व पशु स्वास्थ्य संगठनले मत्स्य क्षेत्रलाई समेत भेटेरिनरी सेवाको अभिन्‍न अंगको रूपमा स्विकारेकोले नेपालमा बिगत देखिनै विधि र विज्ञानलाई बेवास्था गर्दै मत्स्य सेवालाई कृषि विभाग अन्तर्गत राखिएकोले हालको प्रशासनिक पुनर्संरचनामा भईरहेको सन्दर्भमा मत्स्य सेवा सम्बन्धी संगठनात्मक संरचनालाई पशुसेवा विभाग अन्तर्गत राख्ने ब्यवस्था गर्न माग गर्दछौं।

२. पशु स्वास्थ्य तथा पशु पालन क्षेत्रमा अनुसन्धान
क. हाल नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत सञ्चालित पशुपन्छी अनुसन्धानको क्षेत्र प्राथमिकतामा नपारिएको सन्दर्भमा भौतिक, प्राविधिक, तथा प्रशासनिक क्षमतामा सुदृधिकरण गर्दै DEEMED University को अवधारणा अनुरूप पशुपालकका चुनौतिहरूलाई सामाधान गर्न सक्ने गरी प्राथमिकताका साथ पशुपन्छी अनुसन्धान क्षेत्रलाई ब्यवस्थित गर्न माग गरिन्छ।

ख. नेपालको दुध तथा मासुको कुल उत्पादनमा आधा भन्दा बढी योगदान पुर्‍याईरहेको भैँसीपालन क्षेत्रलाई प्रवर्धन गर्न अनुसन्धानमा आधारित योजनाबद्ध विकासको लागि नितीगत ब्यवस्था गर्न जोडदार माग गर्दछौं।

३. नीति, ऐन, नियम तथा अन्य कानूनहरू सम्बन्धमा
क) पशु स्वास्थ्य सेवालाई व्यवस्थित, बैज्ञानिक एवं प्रभावकारी बनाउन पशु स्वास्थ्य नीतिको तर्जुमा गरी लागु गर्न नेपाल सरकारसँग माग गर्दछौं। त्यस्तै पशु स्वास्थ्य, जनस्वास्थ्य तथा वातावरणीय स्वास्थ्यको सुनिश्चितता गर्न एक स्वास्थ्य (One Health) अवधारणालाई नेपालमा लागु गर्न आवश्यक नीति तर्जुमा गर्न समेत नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

ख. नेपालको संविधानले संघीय शासन प्रणालीलाई आत्मसाथ गरिसकेको सन्दर्भमा संघीय प्रणाली अनुरूप हुने गरी भेटेरिनरी सेवालाई अझ प्रभावकारी बनाउन र अन्तराष्ट्रिय स्तरमा प्रचलित तथा विकशित नया-नया मूल्य-मान्यतासँग harmonize हुने गरी भेटेरिनरी औषधी ऐन, पशु कल्याण ऐन, पशुपन्छीका माहामारी नियन्त्रण लगायतलाई उपयुक्त तरिकाले समेटि संघीय प्रणाली अनुरूप नया कानुनहरू तर्जुमा गर्न माग गर्दैछौ। साथै विद्यमान ऐन तथा नियमावलीहरू, पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा नियमावली २०५६, पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा नियमावली २०५७, नेपाल पशु चिकित्सा परिषद ऐन २०५५ तथा नियमावली २०५७ मा आवश्यक संशोधन गर्न माग गर्दछौं। दाना पदार्थ ऐनलाई पशुसेवा विभागको कार्यक्षेत्र भित्र ल्याई दाना पदार्थको नियमन गरि गुणस्तरीय दानाको उपलब्धताको सुनिश्चित गर्ने। त्यस्तै पशुपन्छी क्षेत्रको नियमनको क्षेत्राधिकार भित्र पर्ने अन्य ऐनहरूलाई पनि वैज्ञानिक आधार तथा समय सापेक्ष हुने गरि संशोधनको लागि माग गर्दै आवश्यक सहकार्य तथा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं।

ग. नेपालमा कार्यरत सम्पुर्ण भेटेरिनरी डाक्टरहरूको साझा सङ्गठनको रूपमा रहेको नेपाल भेटेरिनरी एशोसिएसनलाई नेपाल सरकारले नेपालको संविधान अनुरूप गरिरहेको प्रशासनिक पूनर्संरचनामा सहभागी नगराएको प्रति गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौ। मूलुकको भेटेरिनरी सेवामा दुरगामी असर पर्ने प्रशासनिक पूनर्संरचना सम्बन्धी कार्यमा यस एशोसिएसनलाई समेत सहभागी गराउनुहुन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयसँग जोडदार माग गर्दछौं। साथसाथै पशु सेवासँग सम्बन्धीत निति, ऐन, नियमहरू आदि तर्जुमा गर्दा समेत यस एशोसिएसनलाई संलग्न गराउन माग गर्दछौं ।

घ. विद्यमान कृषि सेवा गठन नियमावलीमा भएको प्रावधान अनुसार योगयता नपुगेका ब्यक्तिहरूलाई पशु चिकित्साको पदमा सरकारी स्तरबाट नियुक्त गरिएको सन्दर्भमा सम्मानित ब्यवस्थापिकाले पारित गरेको नेपाल पशु चिकित्सा परिषद ऐन, २०५५ ले पशु चिकित्सक शब्दलाई मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा पशु चिकित्सा विषयमा स्नातक उपाधी हासिल गरेको भनि परिभाषित गरिएकोले नियमावलीमा भएको ब्यवस्था उक्त ऐनसँग बाझिएको। कृषि सेवा गठन नियमावली अनुरूप योग्यता नपुगेका कर्मचारीलाई समेत पशु चिकित्सक पदमा राख्दा कानुन बमोजिम पशु चिकित्सकले गर्नु पर्ने शव परिक्षण, स्वास्थ परिक्षण तथा प्रमाणपत्र जारी गर्ने लगायतका कार्यमा समेत असहजता भएको छ ।

यसरी कर्मचारी नियुक्त गर्दा बैज्ञानिक मूल्यमान्यतालाई समेत बेवास्ता गरि कृषक तथा जनमानसमा समेत भ्रम पैदा गरेकाले सो नियमावलीमा योग्यता पुगेका कर्मचारीलाई मात्र पशु चिकित्सक पदको ब्यवस्था गरि योग्यता नपुगेको हकमा छुट्टै पदनाम राखी तत्काल नियमावली संशोधन गर्न जोडदार माग गर्दछौ ।

४. आकस्मिक सेवाको मान्यता
विश्‍वले नै साझा सम्पत्तिको (Global Public Good) रूपमा भेटेरिनरी सेवालाई ग्रहण गरेको सन्दर्भमा नेपालमा समेत पशुपन्छीको उपचार, क्वारेन्टाईन सेवा, माहामारी नियन्त्रण, कृत्रिम गर्भाधान, प्रयोगशाला सेवा आदि समेत जुनसुकै समयमा गर्नु पर्ने भएकाले नेपालमा यस सेवालाई आकस्मिक सेवाको रूपमा मान्यता दिन सरकारसँग जोडदार माग गर्दछौ ।

५. कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले हालसालै कृषि, पशुपन्छी, भुमि ब्यवस्था तथा सहकारी क्षेत्रको रूपान्तरण सम्बन्धी ५८ बुदे मार्गचित्र जारी गरेकोमा मन्त्रालय तथा मन्त्रालयका माननिय मन्त्री तथा राज्यमन्त्री प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छौ । साथै मूलूकको पशुपालन क्षेत्रको विकासका लागि चालिने मन्त्रालयका हरेक कदमहरूमा यस एशोसिएसनको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता ब्यक्त गर्दछौ। विश्‍वबाट नै खोरेत, पि.पि.आर। र रेबिज रोगलाई उन्मूलन गर्न नेपाल लगायत विश्‍वका अधिकांश मुलूकले प्रतिबद्धता जनाई सकेकोले यस अभियानलाई निष्कर्षमा पुर्‍याउन आवश्यक कार्ययोजना सहित प्रभावकारी ढङ्गबाट अगाडी बढ्न नेपाल सरकारलाई अनुरोध गर्दछौं। यस कार्यमा नेपाल सरकारलाई आवश्यक प्राविधिक परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन एशोसिएसन सदैव अग्रसर रहनेछ ।

६. वैज्ञानिक ढङ्गबाट पशुपालन ब्यवसायको विकास, प्रवर्धन तथा नियमन गर्नको लागि विश्‍वसनिय आधारभुत तथ्याङ्क आवश्यक हुने हुँदा संघ, प्रदेश तथा स्थानिय तहको सहकार्यमा राष्ट्रिय स्तरको तथ्याङ्‍क प्रणाली स्थापना तथा संचालन गर्न माग गर्दछौं ।

७. पशुपन्छीको महामारी लगायतका प्राकृतिक विपत् ब्यवस्थापनको लागि पूर्व तयारी, नितिगत ब्यवस्था, भौतिक पूर्वाधार विकास, साधन स्रोत ब्यवस्थापन, जनसक्तिको क्षमता अभिबृद्धि लगायतका कार्य तत्काल शुरू गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ। यस कार्यमा एशोसिएसनको सक्रिय सहभागिता रहने प्रतिबद्धता जारी गर्दछौं ।

८. पशुपालकहरूले सामना गरिरहनु परेका चुनौतीहरूलाई सम्बोधन गर्ने गरी अन्तराष्ट्रिय मापदण्‍ड अनुरूप Day 1 Competency पुरा गर्न ब्यवहारिक ज्ञानमा आधारित गुणस्तरीय भेटेरिनरी शिक्षा सुनिञ्चित गर्न अविलम्भ राष्ट्रिय भेटेरिनरी शिक्षा निति तर्जुमा गरि लागु गर्न जोडदार माग गर्दछौं ।

९. शिक्षा मन्त्रालय अन्तर्गत माध्यमिक तह (कक्षा ९-१२), प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, उच्च तहमा पशु विज्ञान अध्यापन गराउने शिक्षण सस्थाहरू तथा निजि क्षेत्रको उद्योग व्यवसायमा संलग्न भेटेरिनरी डाक्टरहरूको पेशागत सुरक्षा तथा बृत्ति-विकासको सुनिश्चितताको लागि आवश्यक ब्यवस्था मिलाउन समेत माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस