असारसम्म स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी खटाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

असारसम्म स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी खटाइने


१४ जेष्ठ २०७५, सोमबार


समायोजन

काठमाडौं । सरकारले असारसम्म स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी खटाउने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका स्थानीय तहमा अहिले करिब ४० हजार कर्मचारी छन् । ती स्थानीय तहमा असारसम्म बाँकी १७ हजार कर्मचारी खटाइसक्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने उनले बताए ।

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउन माग गरिएको छ ।

‘हामीले माग गरेअनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ,’ उनले भने, ‘आएका कर्मचारीलाई हामीले क्रमशः पठाउँदै पनि छौं ।’

संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा र ५७ हजार स्थानीय तहमा छन् ।

प्रतिक्रिया दिनुहोस