कहाँ छ गोरेको सम्पत्ति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कहाँ छ गोरेको सम्पत्ति ?


११ जेष्ठ २०७५, शुक्रबार


Police

काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को बयान तीन दिनदेखि जारी छ ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिको टोलीले गोरेलाई केही दिनअघि काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनलाई बयानका लागि मोरङ लगिएको थियो । उनले छानबिन समितिसँगको बयानमा आफू भरिया मात्रै भएको बताएको स्रोतले जनाएको छ ।

सन् २०१५ देखि अहिलेसम्म उनीसहित ६३ जनाविरुद्ध ३८ क्विन्टल सुन अवैध रूपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार चार सय ९० रूपैयाँ (बिगोसहित) जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । तर, यति ठूलो कारोवार गरेको गोरेका नाममा अहिलेसम्म सम्पत्ति भेटिएको छैन । न उनको कुनै बैंकमा खाता नै भेटिएको छ ।

गोरेको सम्पत्तिबारे खोजी गरिरहेको छानबिन समितिले जनाएको छ । यस्तै, गोरेले बयानमा नाम लिएका व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छानबिन समितिले जनाएको छ । ‘पक्राउपछि गोरेसँग बयान लिएका थियौं,’ स्रोतले भन्यो, ‘गोरेबाट केही कुराहरू खुलेका पनि छन् । ती नामहरूबारे पहिले अनुसन्धान गर्छौं ।’

गोरेले नजिकका व्यक्तिको नाममा जग्गा किनेको वा विदेशमा बैंक खाता हुन सक्ने समितिको आशंका छ । ‘आनाको करिब ५० लाख पर्ने ठाउँमा १७ आना जति जग्गा अरु कसैका नाममा भेटिएको छ,’ स्रोतले भन्यो, ‘उक्त जग्गा गोरेकै लगानीमा किनिएको हुन सक्ने आशंका गरेर अनुसन्धान जारी राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस