शिक्षामा लगानीअनुसार प्रतिफल आएन : केपी शर्मा ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षामा लगानीअनुसार प्रतिफल आएन : केपी शर्मा ओली


१० जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानी अनुसार राम्रो प्रतिफल आउन नसकेको बताए् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए ।

उनले  गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

“अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ,” उनले भने, “अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छौं । ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।”

प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,” उनले भने – “निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।” रासस

प्रतिक्रिया दिनुहोस