ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ


९ जेष्ठ २०७५, बुधबार


नुवाकोट । बचतकर्ताबाट संकलन भएको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले ठगी मुद्दा चलाएको छ ।

विदुर नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेलविरुद्ध सहकारी संस्थाका बचतकर्ताको लाखौँ रुपैयाँ ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीको आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

प्रहरीको अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरूले जम्मा गरेको पाँच लाखभन्दा बढी रकम फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करिब दश रोपनी जग्गा सहकारी बैंकमार्फत १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पु¥याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीको आधारमा प्याकुरेलमाथि कारबाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करिब ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको देखिएको छ,” प्रहरी निरीक्षक शाहले भने, “सहकारीका अध्यक्ष कारबाहीको दायरामा तानिएपछि थप अरुको पनि मिलेमतो पाइएकाले संलग्नहरुलाई नियन्त्रणमा लिन लागिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस