प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीको सम्पत्ति ४२ लाख रूपैयाँ !
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति ४२ लाख रूपैयाँ रहेको देखिएको छ । प्रधानमन्त्री ओलीले बुझाएको सम्पत्ति विवरण अनुसार उनको एभरेस्ट बैंकस्थित खातामा ४२ लाख रूपैयाँ रहेको उल्लेख छ । उक्त रकम तलब भत्ताबाट प्राप्त भएको बताइएको छ ।

घरजग्गा तथा अन्य सम्पत्ति पत्नी राधिका शाक्यको स्वाआर्जन रहेको सम्पति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री पत्नी शाक्यको नाममा माछापुछ्रे बैंकमा चार लाख र प्रभु बैंकमा ६ लाख रूपैयाँ नगद मौज्दात देखिएको छ भने राष्ट्रिय बचत पत्रमा २५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै शाक्यकै नाममा भक्तपुरको सूर्यविनायक–२ मा एक रोपनी र आधा रोपनी जग्गा तथा तीन तलको घर र झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा स्वआर्जनबाट जोडेको उल्लेख छ ।

महासेठ सबैभन्दा धनी !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ ।

उनले धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् । नबिल, माछापुच्छ्रे, इन्भेस्टमेन्ट, एनआईसी एसिया र एभरेष्ट बैंकमा खाता भएको उल्लेख गरे पनि नगदबारे उल्लेख गरेका छैनन् ।

श्रीमती महतोको नाममा धनुषा, जनकपुर उपमहानगरपालिका–९ मा करिब ४२ सय वर्गफिटमा साढे दुई तले घर, उनकै नाममा ललितपुर उपमहानगरपालिका–२५ मा ५८ सय वर्गफिटमा बनेको साढे दुई तले घर रहेको उल्लेख छ । २०५६ सालमा ललितपुरको जग्गा खरिद गरेर घर बनाएको सम्पत्ति विवरणमा उल्लेख छ । सगोलमा धनुषा, मिथिला–विहारी नगरपालिका ३ मा ६५ सय वर्गफिट पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा ८ विगाहा जमिन रहेको उल्लेख छ । उनकै नाममा सिन्धुलीको कमलामाई, ललितपुरको नख्खु र धोबिघाटमा जमिन रहेको उल्लेख छ । मन्त्री महासेटको नाममा धनुषामा ५ कठ्ठा र मिथिला विहारी नगरपालिकामा १ विगाहा १० कठ्ठा जमिन रहेको उल्लेख छ । नगद ७२ लाखसहित सुन २७ तोला रहेको र दाईजोबाट पाएको सुन २५ तोला, चाँदी डेढ केजी, जवाहारत, औंठी, सिक्रीलगायत गरगहना भएको उल्लेख छ । जवाहारत विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गरेका छन् ।

जुलिकै नाममा गुडविल फाइनाइन्स, काठमाडौंमा ७० हजारको सेयर, एनभिपिएल प्रालिमा ३७ करोड, कर्पोरेट बैंक वीरगञ्ज २ करोड ५० लाख, लक्ष्मी बैंक, काठमाडौं एक करोड ५० लाख, महिला अधिकार तथा विकास केन्द्र ५० लाख सेयर भएको उल्लेख छ ।

महासेठले नबिल बैंक, दरबारमार्गबाट दुई करोड रूपैयाँ ऋण लिएको उल्लेख छ । यस्तै, करिब तीन करोड रूपैयाँ ऋण सापटी स्वरूप पटकपटक गरी लिएको पनि उल्लेख छ । जुलि महतोको नाममा २१ करोड रूपैयाँ ऋण लिएबापत जग्गा, घर, घडेरी घितो राखिएको समेत उल्लेख छ ।

थापा सबैभन्दा ‘गरिब’ !
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा सबैभन्दा ‘गरिब’ देखिएकी छन् । उनले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रूपैयाँ मौज्दात रहेको देखाएकी छन् ।

खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन् । उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा दुई कठ्ठा जमिन र एउटा स्कुटर रहेको उल्लेख छ ।
यस्तै सासु सीता दाहालको नाममा चितवनमा नै १ कठ्ठा जमिन रहेको देखाएकी छन् । उनको एभरेस्ट बैंकमा खाता छ । तर, रकम शून्य छ ।

प्रतिक्रिया दिनुहोस