नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि सारेकामा प्रशंसा गर्दै कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, ऊर्जा, रेलमार्गलगायत क्षेत्र समेटिएको बताए।

उनले नीति तथा कार्यक्रमले संविधानको कार्यान्वयन गर्न र संविधानका मौलिक हकलाई व्यवहारमा उतार्न सफल हुने अपेक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयन गरेर सरकारले लिएको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसका भरतकुमार शाहले नीति तथा कार्यक्रममा प्रदेश अधिकारको बाँडफाँट सम्बन्धमा ठोस आधार नआएको भन्दै दोहोरो अंकको आर्थिक उपलब्धि गर्न पनि आधार केही नदेखिएको टिप्पणी गरे । नीति तथा कार्यक्रममा कृषि र सिँचाइका क्षेत्रमा सुधार गर्ने भनिए पनि त्यसको कुनै आधार नभएको उल्लेख गर्दै पाँच वर्षपछि रोजगारीका लागि विदेश जानु पर्र्दैन भन्ने आधार के छ भन्ने प्रश्न गरे ।
काँग्रेसकै मोहम्मद अफताव आलमले मजदूरका लागि छुट्टै अस्पताल बनाउने प्रस्ताव नीति तथा कार्यक्रममा राख्नुपर्ने माग गरे ।

नेकपाका कमला रोकाले नीति तथा कार्यक्रम सकारात्मक हुँदा हुँदै पनि विकट क्षेत्रका जनताका आकांक्षा समेट्न नसकेको उल्लेख गर्दै बजेट आउँदासम्ममा उक्त विषय समेटिने अपेक्षा गरे। सांसद रोकाले युद्ध पर्यटनलाई बढावा दिने नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

नेकपाकै नारदमुनि रानाले रोजगारीका अवसर सिर्जना गर्ने आधार उल्लेख गरेकाले युवा वर्गबाट प्रशंसा भएको बताए । सोही दलका हृदयेश त्रिपाठीले विकास खर्च गर्ने चुनौतीतर्फ सरकारले ध्यान दिनुपर्ने बताउँदै नीति तथा कार्यक्रममा मुक्तकमैया, कमलरी, भूमिहीनलगायत विषय समावेश गर्न सुझाव दिए । संविधानमा रहेको त्रुटि सच्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान संशोधनको आवश्यकता रहेकामा सांसद त्रिपाठीले जोड दिए ।

राष्ट्रिय जनता पार्टी नेपालका अमृता अग्रहरिले नीति कार्यक्रम प्रस्तुत हुँदा मौनधारण गरेर शहीदप्रति सम्मान नगरिएको भन्दै दुःख व्यक्त गरे । नीति तथा कार्यक्रममा अन्यायमा परेको मधेस र अन्य समुदायको सम्बन्धमा कुनै शब्द नपरेको गुनासो गर्दै सांसद अग्रहरीले लोकतन्त्र कागजमा लेखेर मात्र जनतालाई अनुभूति नहुने भन्दै व्यवहारमा लागू हुने नीति तथा कार्यक्रम ल्याउनुपर्ने धाारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका रेणुकुमारी यादवले राजतन्त्रमा पनि राजाले सभामुख र सांसदलाई माननीय भन्ने गरेको प्रसंग उल्लेख गर्दै नीति तथा कार्यक्रममा सभामुख र सांसदलाई सम्बोधन गर्दा सम्मान नगरिएको भनी आपत्ति जनाए । नीति कार्यक्रममा संविधान संशोधनको एक शब्द पनि उल्लेख नगरिएको गुनासो गर्दै सांसद यादवले विपक्षीको भावनाको उपेक्षा भएमा समृद्धि हासिल नहुने तर्क गरे ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले गरीब, किसान र मजदुरको अधिकार संरक्षण, ग्रामीण पर्यटन, सामुदायिक विद्यालयको स्तरोन्नति, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवालगायत विषय नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिए ।

बैठकमा अमृता थापा, प्रमोद साह, विमलप्रसाद श्रीवास्तव, कृष्णगोपाल श्रेष्ठ, अमनलाल मोदी, सञ्जयकुमार गौतम, राजेन्द्रप्रसाद गौतमलगायतले सरकारको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलमा भाग लिँदै पक्ष विपक्षमा आआफ्ना धारणा राखेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरेकी हुन् । रासस

प्रतिक्रिया दिनुहोस