राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन् । उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएका थिए ।

‘हाम्रो अस्पतालमा भएको सबै प्रविधि प्रयोग गरेर उनको उपचार गर्यौँ, तर पनि अलिअलि रक्तस्राव भइरहेको छ’, उनले भने, ‘साना आन्द्राको कुन भागबाट रक्तस्राव भइरहेको छ । त्यो पत्ता लगाउने उपकरण नभएकाले रक्तस्राव रोक्न हामीलाई समस्या भयो । त्यसैले थप उपचारका लागि भारत लैजान सुझाव दिएका हौँ ।’ उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालसँग छैन ।

उनले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताए । वि.सं. १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा. शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस