रानीपोखरीको कङ्क्रिट हटाउन चार निवेदन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रानीपोखरीको कङ्क्रिट हटाउन चार निवेदन


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । रानीपोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन चार वटा निवेदन पेश भएको छ ।

काठमाडौं महानगरपालिकाले गत वैशाख २२ गते यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन बोलपत्र आह्वान गरेको थियो । माग गरिएको समयानुसार आइतबार समय सकिसकेको छ ।

चार निवेदनमध्येबाट कामपाले भनेअनुसार कम मूल्यमा जसले काम गर्न निवेदन पेश गरेको छ, उसैलाई छनोट गरिने कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार बुधबारसम्म कसलाई भत्काउनका लािग जिम्मा दिने भन्नेबारे मूल्याङ्कन समितिले छनोट गरिसक्ने छ ।

कामपाले छनोट गरेसँगै रानीपोखरीमा पुनःनिर्माणका लागि प्रयोग भएका आधुनिक निर्माण सामग्री हटाइने छ ।

यसअघि कामपाले आगामी जेठ १५ गतेबाट पुनः निर्माण शुरु गर्ने जानकारी गराए पनि १५ गतेबाट पुनःनिर्माण गर्न नसकिने र भत्काउने कार्य भने गर्ने कामपाले जानकारी दिएको छ ।

भूकम्पका कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो । अहिले पोखरी पुरातत्व विभाग र पोखरीको अन्य भाग काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भएका छन् ।

करिब १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भनी चौतर्फी विरोध आएपछि स्थगित गरिएको छ ।

सोही समयमा प्रयोग भएका आधुनिक सामग्री हटाई पुनःनिर्माण गर्ने कामपाको योजना छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस