सुन तस्करका मुख्य अभियुक्त सार्वजनिक, ‘गोरे’ को हुन् ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुन तस्करका मुख्य अभियुक्त सार्वजनिक, ‘गोरे’ को हुन् ?


८ जेष्ठ २०७५, मंगलबार


काठमाडौँ– सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे)लाई प्रहरीले काठमाडौंको गौरीघाटबाट आज बिहान पक्राउ गरेको छ । गृह मन्त्रालयको विशेष छानबिन समितिअन्तर्गत खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्न गठित समितिले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ ।

समिति संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार गोरेलाई आजै मोरङ जिल्ला अदालतमा प्रस्तुत गर्न विराटनगर पठाउन लागिएको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये ३३ अभियुक्त अझै फरार छन् ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रूपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

को हुन् गोरे ?

साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती उर्फ गोरे । उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

उनी नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा हुन् । मध्यम वर्गीय परिवारका उनी भारतीय सेनामा जागिर गर्ने प्रयास पनि गरेका थिए । तर, तालिम लिएको केही समयमै भागेका थिए । त्यहाँबाट भागेर उनी दुबई पुगेका थिए । त्यसपछि उनले दुबई प्रहरीमा समेत जागिर गरे । दुबई प्रहरीमा काम गर्दा उनले सुन तस्करीबारे जानकारी पाए । त्यसपछि उनले प्रहरीको जागिर छाँडे । निकै चतुर रहेका उनी सुरुमा तस्करको भरिया बने । त्यसपछि आफै सुन तस्करीमा संलग्न बने ।

आफनो ‘धन्दा’ सफल बनाउन उनले नेपालका प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । यसले उनलाई तस्करी गर्न झन् सहज भयो । त्यसपछि उनी निरन्तर नेपाल आउजाउ गर्न थाले ।

गोरेबारे जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष गोरेले दुबई बसेर सुन पठाउने र हुन्डीको कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए ।

त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्यान्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने धन्दामा सक्रिय रहेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

उनले दुबईबाट सुनको कारोबार गर्ने र भरिया खोजेर सेटिङमा नेपाल पठाउने गरेको पक्राउ परेका उनका सहयोगीहरूले बयान दिएका छन् ।

भारतीय सुन व्यापारीहरूसँग कनेक्सन जोडिएपछि गोरेले एयरपोर्टका कर्मचारीदेखि प्रहरीसम्म सेटिङ मिलाएर सुन तस्करी गर्न थालेको स्रोत बताउँछ ।

यसअघि पनि उनको नाम तस्करीसँग जोडिएको थियो । तर, प्रहरी अधिकारीसँगको हिमचिमले उनी पक्रिएका थिएनन् । यो पटक सनमको हत्या भएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

उनले उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । उनले काठमाडौंको गौरीघाटमा पनि आलिसान बंगला ठड्याएका छन् । उनले बानेश्वरमा कोठा भाडामा लिएर सुन राख्ने गोदाम बनाएका थिए । हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् ।

समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको तथ्य फेला पारेको थियो । जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ ।

यही आधारमा सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ ।
‘गोरेलाई जन्मकैदको सजाय होस्’

गोरे पक्राउ परेसँगै सनम शाक्यका परिवारले न्याय पाउने विश्वास गरेका छन् ।

सुन तस्करी र सनम हत्याको विषयमा बहस सुन्न मोरङ अदालत पुगेका सनमकी आमा कल्पना र श्रीमती सुनिता शाक्यले अदालतमै गोरे पक्राउ परेको सुनेका थिए । उनीहरूले गोरेलाई जन्मकैद हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस